विराटनगरमा मध्ये राती एक युवकको हत्या, २ जनाको अवस्था गम्भिर

विराटनगर– मोरङको विराटनगरमा सोमबार राति एक युवकको हत्या भएको छ भने २ युवक गम्भिर घाईते छन्। कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या भएको हो।
मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–२, नेपाल टेलिकम नजिक राती करिव १० बजे ३ जना घाईते अवस्थामा फेला परेपछि वाटो हिड्ने वटुवाहरुले राती नै विराटनगरको कोशी अस्पतालमा भर्ना गराएका थिए।
उपचारकै क्रममा कामतको अृत्यु भएको मोरङ प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए। उनका अनुसार मृतक कामतको छाती र कम्मरको भागमा धारिलो हतियारले रोपेजस्तो चोट देखिएको छ।
उनिसँगै कटहरी–१, जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन्। उनिहरुको कोखा र ढाडमा चोट छ। दुवैलाई कोशी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल भर्ना गरिएको छ।
घट्नाको विवरण खुलिसकेको छैन। कुनै अर्को समुहले तीनै जनालाई आक्रमण गरी फरार भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। अर्कोतर्फ मादक पदार्थ सेवन गरेका उनिहरुकै बीचमा झडप भएको पनि हुन सक्ने प्रहरीको अनुमान छ। तर, अवस्था यही हो भन्ने यकिन भएको छैन।
घाइते मण्डलले भने रातको समयमा बाटोमा हिँडिरहेका बेला एक्कासि आक्रमण भएको प्रहरीलाई बताएका छन्। प्रहरीका अनुसार कसले आक्रमण गरेको हो र आक्रमणकारी कति जनाको संख्यामा थिए भनेर मण्डलले खुलाउन सकेका छैनन्।
घटनास्थलबाट प्रहरीले एउटा मोबाइल फेला पारेको छ। घटनाको वास्तविकता पत्ता लगाउन प्राविधिक पक्षसमेतको विश्लेषण गर्दै विभिन्न कोणबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।