वन्यजन्तु चोरीशिकारीमा संलग्न पूर्वडीआईजी र बहालवाला सईसहितलाई उन्मुक्ती दिन प्रहरीको चलखेल

राजविराज — वन्यजन्तुको चोरीशिकारीमा संलग्न भएको आरोपमा बुधबार मध्यरातमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी, बहालवाला सई र पूर्वउपसभामुखका छोरासहित १० जनालाई उन्मुक्ती दिन सप्तरी प्रहरीले चलखेल सुरु गरेको खुलेको छ।

अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट पक्राउ गरिएको को२त ६९ नम्बरको ट्याक्टर र त्यसमा रहेको मृत बँदेललाई बेवारिसे अवस्थामा फेला परेको मुचुल्का बनाई सवडिभिजन वन कार्यालय कञ्चनपुरको जिम्मा लगाईएको छ। त्यसपछि पक्रउ परेका शिकारीलाई विहिबार नै जिम्मा जमानीमा छोडिएको खुलेको छ।

सवडिभिजन वन कार्यालयका अनुसार प्रहरीले बेवारिसे अवस्थामा ट्याक्टर र त्यसमा लोड रहेको बँदेल फेला परेको पत्रसहित बिहीबार साँझ पठाएको हो। तर, अवैध रुपमा बँदेल मारेर ल्याउँदै गर्दा भारदह क्षेत्रबाट उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको थियो।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर सुशान्त मिश्र नेतृत्वको टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका–२ घरभएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह, विराटनगर–३ घरभएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने र हनुमाननगर कंकालिनी–८ का पूर्व उपसभामुख गंगा यादवका छोरा आकाश बहरखेर यादवसहित १० जनालाई पक्राउ गरेको थियो।

यो घटनामा पक्राउ गरिएको राइफल र गोली भने प्रहरीले आफनै नियन्त्रणमा राखेको छ। उक्त राईफल पनि अनुमति प्राप्त हो वा होइन भन्ने स्पष्ट खुल्न सकेको छैन। पूर्वडीआईजी शाहको नाममा रहेको राइफलको अनुमति पत्रको फोटोकपी पेस गरेका आधारमा उनलाई प्रहरीले छोडेको हो। तर, राइफल राख्ने अनुमति कुन प्रयोजनका लागि हो भन्ने प्रहरीलाई समेत जानकारीमा छैन। त्यसको अनुशन्धान भईरहेको सप्तरी प्रहरीका एसपी गजुसिद्धी बज्राचार्यले बताए।

प्रहरीले उनीहरुको साथबाट २२ क्यालिवरको राइफल १, म्यागजिन २ र १५ राउण्ड गोली बरामद गरेको थियो। साथै, मारिएको बँदेल लोड गरिएको को२त ६९ नम्बरको ट्याक्टर र प्र ३–०१–०२२ च ६८५५ नम्बरको स्कार्पियोसमेत नियन्त्रणमा लिएको थियो।

पूर्वडीआईजी शाह र बहालवाला सई न्यौपाने केही स्थानीयसँगै मिलेर लामो समयदेखि कोशी ब्यारेज क्षेत्रमा अवैध चोरी सिकारी गर्दै आएको स्थानीयको आरोप छ। बुधबार राति गाँजा तस्करको खोजीमा निस्केको प्रहरीले मृत बँदेल, हतियारसहित १० जनालाई नियन्त्रणमा लिएको थियो। पूर्वडीआईजी र वहालवाला सईसहित रहेकाले सुरुमै छोड्ने प्रयास गरिए पनि स्थानीय बासिन्दाले थाहा पाएकाले सो प्रयास असफल भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट