सप्तरीको विकट क्षेत्र गोबरगाढामा प्रदेशमन्त्रि र सुरक्षा प्रमुखको लर्को, के हो भ्रमणको उदेश्य

राजविराज — सुरक्षा र चोरी÷तस्करीका लागि अत्यन्तै सम्वेदनशील मानिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढा टापुमा सोमबार प्रदेशस्तरका दुई मन्त्रिसहित सुरक्षा प्रमुखहरुले भ्रमण गरेका छन्।
सप्तरीको विकट क्षेत्र भनेर चिनिने गोवर गाढामा यो तहको भ्रमण निकै लामो समयपछि भएको हो। यो क्षेत्र नेपाली भूभाग भएपनि कतिपय अवस्थामा भारतीय सुरक्षाकर्मीले आएर दुःख दिने गरेका छन्। ठाउँ छोडेर जान धम्की समेत दिने गरेको गुनासो वेला वखत सुनिँदै आएको छ।
गोवरगाढा चोरी तस्करीका लागि पनि प्रख्यात ठाउँ हो। यहाँबाट मदिरा, गाँजालगायतका अवैद्य सामग्री घोडा मार्फत तस्करी हुँने गरेको स्रोत वताउँछ। यही ठाउँमा सोमबार बिहान मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखी र वन तथा पर्यटनमन्त्री सकिल अली भ्रमणमा पुगेका हुन।
भ्रमणमा नेपाल प्रहरीका प्रदेश प्रमुख डीआईजी लालमणि आचार्य, सशस्त्र प्रहरीका डीआईजी कालीदास धौबोजी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेलसहितका सुरक्षा अधिकारीहरू गोबरगाढा पुगेका थिए।
भ्रमण टोलीमा हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझीसहित स्थानीय जनप्रतिनिधि सहभागि थिए। उनीहरुलाई गोबरगाढाबासीले त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए।
नेपाल प्रहरीको डीआईजी आचार्यले गोबरगाढामा विगतमा रहेको प्रहरी चौकी पुनस्र्थापित गर्न जिल्ला सुरक्षा समितिका अधिकारीहरूसँग कुरा गर्ने वताउँदै तत्काल हनुमाननगर स्थित इलाका प्रहरी कार्यालयबाट कम्तीमा दुई दिनमा प्रहरीको गस्ती गोबरगाढासम्म गर्न निर्देशन दिने बताए।
यो टोली आईतबार सप्तरीको शप्तकोशी नगरपालिका–१, फत्तेपुरमा पुगेको थियो। पछाडि गाडीको लर्को लगाएर आफु पैदल निस्केको टोलीलाई हेर्न सर्वसाधारणको भीड लागेको थियो। स्थानीयले निकै चासो ब्यक्त गरेका थिए।