वीपी प्रतिष्ठानमा आवासीय डाक्टरको मृत्युः साथीलाई पठाएको म्यासेज उल्लेख गर्दै भाईले दिए जाहेरी

सुनसरी– सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवासीय (रिजीडेन्सी) डाक्टरको रूपमा कार्यरत इनरुवा नगरपालिका–१ का डा. पङ्कज गुप्ता गत २९ पुसमा क्वाटरमै मृत फेला परे। प्रहरीका अनुसार उनले आत्महत्या गरेका हुन।

दन्त चिकित्साशास्त्रमा एमडीएस गर्दै गरेका डा. गुप्ता २ वर्षदेखि प्रतिष्ठानमा थिए। पोष्टमार्टम रिपोर्टले डा. गुप्ताले आत्महत्या नै गरेको संकेत गरेको छ। गुप्ताले सुरुमा बायाँ हातको नाडीमा चक्कुले काटेका थिए। त्यसको जानकारी पाएपछि उनलाई बचाउने मनसायले सुरक्षाकर्मी क्वाटरमा पुगे। तर, ढोका खोल्न खोज्दा खोज्दै गुप्ताले सलको पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानले घट्नाको अनुशन्धान गरिरहेको छ। यसैक्रममा डा. गुप्ताका भाई अनुपले घट्नाको छानविनको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन्। जसमा पंकजले परिवारसँग गरेको कुराकानी र सहपाठीहरुलाई पठाएको म्यासेजलाई गम्भिरतापूर्वक उठाईएको छ।

डा. गुप्ताले ३ महिनाअघि मोरङको विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत उनका साथी डा. विजय मेहतालाई फोन गरेर पनि आफनो व्यथा सुनाएका थिए। डा. विजयका अनुसार त्यतिवेला उनले आफुलाई ‘गाह्रो भईरहेको’ विषयमा कुराकानी गरे। तर, घट्नाले यति गम्भिर रुप लेला भन्ने विजयलाई पनि लागेको थिएन। यद्यपी उनले डा. गुप्तालाई सम्झाई–वुझाई गरे। साथीको नाताले हौसला पनि दिएका थिए।

जाहेरीमा उल्लेख भए अनुसार डा. गुप्ता शनिवार मात्रै घरबाट प्रतिष्ठान गएका थिए। घरमा उनले काम गर्ने वातावरण नभएकाले सवैथोक छोडेर आउन लागेको वताएका थिए। तर, परिवारका सदस्यले ‘धेरै मन नडुलाउन र पढाइ सकेर आउन’ भनेपछि उनी काममा फर्किएका थिए।

शनिवार घरबाट फर्किएका उनी आइतबार पढाइ सकेर काममा गए। तर, सोमबार र मंगलबार उनी काममा गएनन्। त्यसको जानकारी पाएपछि परिवारका सदस्यले पंकजका साथीहरुलाई फोन गरे। तर, कसैको फोन नउठेको भाइ अनुपले बताएका छन्।

यसैगरी, सहपाठीहरुलाई पठाएको म्यासेजमा पंकजले आफुलाई सिद्याउने प्रयास भईरहेको बताएको पाईएको छ। ‘मलाई गलत देखाएर मेरो क्यारियरमा नै अवरोध ल्याउन खोजिरहेका छन। मैले यो कुरा चिर्नलाई मेरो तर्फबाट बेस्ट गर्न खोजिरहेको छु। तर मेरो क्यारेक्टरलाई देखाएर एक्लो बनाउने काम गरिरहेका छन्।’– उनले पठाएको म्यासेजमा भनिएको छ। तर, कसले एक्लो बनाउन खोजिरहेको भन्ने कुरा म्यासेजमा खुलेको छैन।

यता, इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले घटनाको अनुसन्धान भइरहेको बताए। ‘पोस्टमार्टम रिपोर्टले उहाँले आत्महत्या गरेको देखिन्छ। तर, उहाँले साथीहरूलाई केही म्यासेजहरू पठाएको देखिएको छ। म्यासेजका आधारमा थप अनुसन्धान र केही व्यक्तिसँग सोधपुछ भईरहेको छ’ उनले भने–‘परिवारले घटनाका विषयमा डिपार्टमेन्टलाई लक्षित गरे जाहेरी दिनु भएकाले अनुसन्धान गरिरहेका छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट