निजी अस्पतालमा अप्रेशन भएका युवकको मृत्यु प्रकरणले ३ जना सरकारी डाक्टर सम्पर्कविहिन

जनकपुर– रौतहटको एक निजी अस्पतालमा शनिबार पेटको अप्रेसन भएका १८ वर्षीय युवकको उपचारकै क्रममा मृत्यु भएपछि त्यसको तरंगले सरकारी अस्पतालका ३ जना चिकित्सक सम्पर्कविहिन भएका छन्।
सरकारी अस्पतालको तलव खाए पनि निजी अस्पतालको भलाईका लागि काम गर्दा उनीहरु सम्पर्कविहिन हुनपरेको हो। प्रादेशिक अस्पताल गौरका चिकित्सकहरु डा. पंकज साह, डा. फिरोज अन्जुम र डा. घनश्याम ठाकुर हाल सम्पर्कविहिन छन्।
गौर सेन्ट्रल अस्पतालमा अप्रेसन भएका गौर नगरपालिका–३ का १८ वर्षीय लालु अधिकारीको मृत्यु भएपछि उनीहरु कार्यस्थलमा हाजिर भएका छैनन्। स्रोतका अनुसार सरकारी अस्पतालमा उपचारका लागि आएका लालुलाई उनीहरुले नै ‘उपकरण छैन’ भन्दै निजी अस्पतालमा पठाएका थिए।
निजी अस्पतालमा पनि आफै पुगेर अप्रेसन गरेको विरामीको पनि मत्यु भएपछि उनीहरु समस्यामा छन्। पेट दुख्ने समस्याका कारण लालुलाई शनिबार प्रादेशिक अस्पताल गौर लगिएको थियो। त्यहाँ केही परीक्षण गरेपछि मेडिकल अधिकृत डा. घनश्याम ठाकुरले बिरामीको आन्द्रा फुटेको बताएका थिए।
अप्रेशनका लागि एनेस्थेसिया (बेहोस बनाउने) चिकित्सक नभएको भन्दै उनले डा. पंकज साहसँग सम्पर्क गर्न भने। साहले उनलाई गौर सेन्ट्रल अस्पताल लैजान सल्लाह दिए। त्यहाँ पुगेपछि डा. साह आफैँ अप्रेशन गर्न पुगेका थिए। अप्रेशनपछि लालुको अवस्था गम्भीर बन्यो। उनलाई राति नै नेशनल मेडिकल कलेज वीरगन्ज लगियो।
मेडिकल कलेजले उनको मृत्यु भएको जानकारी गराएपछि आफन्तले लालुको शव ल्याएर प्रादेशिक अस्पताल र गौर सेन्ट्रलका चिकित्सकलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा गुहार मागेका छन्।
प्रादेशिक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले भने घटनाबारे छानबिन भइरहेको र तीनै जना चिकित्सकलाई २४ घण्टे स्पष्टिकरण सोधिएको बताए। तर, घट्नापछि उनीहरु अस्पताल आएका छैनन् भने पत्र वुझ्न पनि मानेका छैनन्।
उनका अनुसार अस्पतालमा बिरामीलाई अप्रेशनका लागि बेहोस बनाउन आवश्यक मेसिन उपलब्ध छ। तर, एनेस्थेसियामा एमडी गरेका चिकित्सक डा. उज्ज्वल ठाकुरको सरुवा भएपछि एक महिनादेखि प्रादेशिक अस्पतालमा सेवा रोकिएको छ। यद्यपी रेफर गर्नु पर्ने विरामीलाई एकै पटक विरगञ्ज नपठाएर किन स्थानीय निजि अस्पतालमा पठाईयो भन्ने विषयमा अनुशन्धान हुने उनको भनाई छ।