परस्त्रीसँगको सम्बन्धले घर झगडा भएपछि सैनिक जवानले गरे श्रीमतीको हत्या, ५ वर्षीया छोरीको विचल्ली

काठमाडौँ– परस्त्रीसँगको सम्बन्धका कारण घर झगडा भएपछि काभ्रेको वीरदल गणमा कार्यरतमा कार्यरत एक सैनिक जवानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

सुर्खेतको गुर्भाकोट नगरपालिका–५ घर भएका सैनिक जवान २९ वर्षीय दर्शन खत्रीले श्रीमती २६ वर्षीय प्रेमा वलीको हत्या गरेका हुन। वलीको शव आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका भेटिएको थियो।

रत्न राजमार्गको छिन्चु–सुब्बाकुना सडकखण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दूरीमा रहेको झिंगेनारा खोलाको पानीमा घोप्टो परेको अवस्थामा आइतबार बिहान वलीको शव फेला परेको थियो। घटना शनिबार बेलुकाको भए पनि जङ्गलको बीचमा पर्ने खोलामा शव भएकाले कसैले देखेनन्।

आइतबार बिहान करिव १० बजे थाकल टिप्न गएका स्थानीयहरूले खोल्सामा शव देखेपछि छिन्चु प्रहरीलाई खबर गरेका थिए। लगत्तै घटनास्थल पुगेको प्रहरीले सुरुमा शवको पहिचान गर्न सकेन। घटनास्थलमा पुगेका आफन्तले साँझपख मात्रै शवको पहिचान गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार प्रारम्भिक चरणमै श्रीमान् दर्शन खत्री अनुशन्धानको केन्द्रमा परे। उनलाई प्रहरीले आईतबार नै नियन्त्रणमा लियो। केरकार गर्दा सुरुमा उनले इन्कारी बयान दिएका थिए। उनी निकै हतोत्साहित देखिन्थे। सोधीखोजी गर्दा विचलित हुने, आत्तिने, फरक–फरक जवाफ दिने गरेपछि उनलाई नियन्त्रणमा लिईएको थियो। त्यसपछि प्रेमाको हत्या आफैंले गरेको उनले प्रहरीसमक्ष बयान दिएका छन्।

प्रहरीका अनुसार दर्शन र गुर्भाकोट–६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि प्रेम विवाह भएको थियो। २ वर्षपछि छोरी जन्मिइन्। त्यसपछि दर्शनको नेपाली सेनामा नाम निस्कियो र उनी काभ्रेको वीरदल गणमा कार्यरत भए।

त्यसपछि उनको परस्त्रिसँग हिमचिम बढन थाल्यो। यो कुरा प्रेमाले थाहा पाईन। घरपरिवार हुँदै यो कुरा प्रेमाको माइतीसम्म पुग्यो। श्रीमान–श्रीमतीबिच अविश्वास बढ्न थाल्यो। यही विषयले विगत ५ वर्षदेखि दुई जनाको झैझगडा र कुटपिटसमेत हुन थाल्यो। त्यसैले प्रेमा छोरीसहित माइतीघर बस्न थालिन।

यता, दर्शनले पनि प्रेमाको अन्य पुरुषसँग रहेको आशंका गरेका थिए। पछिल्लो समय उनले अर्कै केटाका फोटो मोवाईलमा राखेको देखेपछि दर्शन पनि आक्रोशित थिए। यही कारणले उनले प्रेमाको हत्या गर्ने योजना वनाई बिदा लिएर शनिबार साँझ मात्रै छिन्चु पुगेका थिए। उनलाई छिन्चु बजारसम्म लिन आउन पनि भने। प्रेमाले छोरीलाई घरमा छोडेर श्रीमानले साथीसँग सामान पठाएको र लिन छिन्चु जान लागेको जानकारी गराएर श्रीमानलाई लिन हिडिन।

छिन्चु बजारमा उनीहरुको भेट भयो। सुरुमा राम्रै कुरा भए पनि बिस्तारै झगडा हुन थाल्यो। झगडा गर्दै–गर्दै उनीहरू झिंगेनारा जङ्गलमा पुगे। त्यहाँ दुवैले एकअर्काको मोवाईल चेक गर्न थाले। त्यहीक्रममा बेलुका करिव ७ बजे रिसको आवेगमा आएर खत्रीले प्रेमाको टाउकोमा ढुङ्गाले प्रहार गरे। ढुङ्गाको चोटले प्रेमा ढलेपछि उनकै सलले घाँटीमा कसेर हत्या गरे।

त्यसपछि राति ८ बजे खत्री घटनास्थलबाट गुर्भाकोट घर गएको प्रहरीले जनाएको छ। दुवै जनाले एक अर्कामाथि गर्ने शंकाले घटना भएको प्रहरीको ठहर छ। प्रेमाले श्रीमानलाई अर्कै केटीसँग लागेको भनिरहने र श्रीमानले पनि प्रेमामाथि शंका गर्दा घट्ना भएको डीएसपी बुढथापाको भनाई छ।

प्रहरीले दर्शनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। प्रेमाको मृत्यु र दर्शन प्रहरी हिरासतमा पुगेपछि ५ वर्षीया छोरीको विचल्ली भएको स्थानीयले वताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट