सर्लाहीमा दुईटा मोटरसाईकल जुधेर दुवै चालकको मृत्यु, २ जना गम्भिर घाईते

जनकपुर– सर्लाहीको बाग्मती नगरपालिकामा मंगलबार दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ भने पछाडि बसेका दुई जना घाइते छन।

अपरान्ह करिव ४ बजे बागमती नगरपालिका–४ जिरायत बजार स्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो। पुतली चोकबाट सोल्टी बजार तर्फ जाँदै गरेको प्र३–०२–००६प ७८६८ र विपरीत दिशाबाट आउँदै गरेको बा५६प ५२६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।

दुर्घटनामा बा५६प ५२६ नम्बरको मोटरसाइकलका चालक रौतहटको बिसुनपुर्वा गाउँपालिकाका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्र३–०२–००६प ७८६८ नम्बरको मोटरसाइकलका चालक काठमाडौं महानगरपालिका–२३, बसन्तपुरका ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार दुवैलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल लगिएको थिए। तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्र३–०२–००६प ७८६८ मा पछाडि बसेका भारतको बिहार राज्य बकुलियाकी ३४ वर्षीया मुनीदेवी साह र रौतहट बिसुनपुर्वा गाउँपालिका–४ की ३२ वर्षीया चञ्चलदेवी साह गम्भीर घाइते छन्। उनीहरुलाई उपचारका लागि वीरगञ्ज लगिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट