आफनै हाकिम विरुद्ध गतिविधि गर्ने बालेन्द्रका सेनापतिलाई ७ दिने स्पष्टिकरण, चित्त नबुझे कारवाही

काठमाडौँ — आफनै हाकीमको कार्यकक्षमा ताला तथा गाडीमा ह्विल लगाउने र जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहका सेनापति ( महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक) राजुनाथ पाण्डेलाई कारवाही सुरु भएको छ।

पाण्डेलाई कार्यालयमा हाजिर गर्न आउँदा अवरोध गरेको लगायतका विभिन्न विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले स्पष्टीकरण सोधेर कारवाहीको फायर खोलेका हुन। गुरागाईँले पाण्डेलालाई सोमबार ७ दिने स्पष्टिकरण सोधेका छन्। उनले भने– ‘म हाजिर गर्न आउँदा भएको घटनालाई लिएर उहाँमाथि स्पष्टीकरण सोधिएको हो।’

गत ७ पुस देखि बिदामा रहेका गुरागाईं ११ चैतमा कार्यालय हाजिर गर्न जाँदा नगर प्रहरी बलका प्रमुख पाण्डेले अवरोध गरेका थिए। उनले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा ‘ह्विल लक’ गरिदिएका थिए भने कार्यालय प्रवेशमा अवरोध गरेका थिए।

जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको, हाजिर पुस्तिका कब्जामा लिइएको, कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको लगायत ७ बुँदे स्पष्टिकरण सोधिएको गुरागाईले जानकारी दिएका छन्।

उनलाई सात दिन भित्र रितपूर्वक स्पष्टीकरण पेस गर्न सूचित गरिएको स्रोतको भनाइ छ। म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख छ।

महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ। तर, पाण्डेले बालेन्द्रको मौखिक निर्देशनमा आफनै हाकिम विरुद्ध गतिविधि गरेका थिए।

‘कानुनमा जसको मातहत रह्यो त्यहीअनुसार गर्नुपर्ने हो। अहिलेसम्म सबै अवस्था बुझेर त्यो दिनको घटनालाई लिएर स्पष्टीकरण सोधिएको हो।’– गुरागाईंले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट