अध्यागमन प्रमुख हुँदा मानव तस्करसँग साँठगाँठको प्रमाण फेला परेपछि गृहमन्त्रालयका सहसचिव पक्राउ

काठमाडौँ– गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रमुख हुँदा मानव तस्करसँग साँठगाँठ गरेको प्रमाणहरु फेला परेपछि बुधबार उनलाई पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यससम्बन्धी केही प्रमाणहरू फेला परेपछि कार्यालयका प्रमुख भट्टराईलाई पक्राउ गरी मोवाईल समेत जफत गरिएको जनाएको छ। मोबाइलमा यससँग सम्बन्धित अन्य महत्वपूर्ण विवरणहरू रहेको अख्तियारको दावी छ।

विमानस्थलस्थित अध्यागमन कार्यालयमा पनि आयोगको टोलीले छापा मारेको छ। आयोग स्रोतका अनुसार, उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको बारे यथेष्ट आधारहरू फेला परेका छन। यसबारे गृह मन्त्रालयसम्म पनि सूचना पुगेको थियो। त्यसपछि एकदिन अघि मात्र उनी अध्यागमनबाट गृहमन्त्रालयमा सरुवामा परेका थिए।

उनको स्थानमा गृहले पाँचथरका सीडीओ विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रुपमा पठाउने निर्णय गरेको थियो। अख्तियारले केही साताअघिबाटै यस विषयमा अनुसन्धान गरिरहेको र अध्यागमनमा छापा हान्ने सुइँको पाएपछि गृहले हतारमा भट्टराईलाई सरुवा गरेको हो ।

भट्टराईमाथि नेपालबाट भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेको छ। उजुरीमा दैनिक ४ सय जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको र सेटिङमा माथिसम्मै पुग्ने गरेको दाबी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट