अन्धविश्वासको चपेटामा गयो कलिलो ज्यान, पक्की घर छोडेर छाउगोठमा बसेकी कमलाको सर्पदंशबाट मृत्यु

राजधानी– रजस्वलाका बेला घरमा बस्दा ‘देउता रिसाउँछ’ भन्ने अन्धविश्वासका कारण पक्की घर छोडेर छाउगोठमा वसेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको सर्पले डसेर मृत्यु भएको छ।

घटना शुक्रबार मध्यराति साढे १२ बजेतिर भएको हो। महिनावारी भएका कारण उनी घरनजिकैको जीर्ण र असुरक्षित छाउगोठमा सुतिरहेकी थिइन्। त्यही बेला करेत जातको विषालु सर्पले टोकेको स्थानीयलाई उधृत गर्दै इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

सर्पदंशपछि गम्भीर अवस्थामै कमलालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर, उपचारकै क्रममा शनिबार उनको ज्यान गयो।

स्थानीयका अनुसार कमलाको घर पक्की र सुरक्षित छ। तर, परिवारमा गहिरो अन्धविश्वास भएकाले महिनावारी भएका बेला छाउगोठमै बस्न बाध्य बनाइएको थियो।

कमलाको परिवार पहाडी जिल्ला अछामबाट कञ्चनपुरको निगाली क्षेत्रमा बसाइँ सरेको हो। जहाँ महिनावारी भएका महिलालाई घरमा बस्न दिइँदैन, नजिकै छुट्टै बनाइएको झुप्रोमा बस्न बाध्य पारिन्छ।

कृष्णपुर नगरपालिका–१ का वडाध्यक्ष मोहन बस्नेतका अनुसार स्थानीय तहले छाउगोठ हटाउने प्रयास गरे पनि व्यवहारमा चुनौती रहेको छ। ‘हामीले धेरै पटक सचेतना अभियान चलायौं,’ उनले भने, ‘तर यस्ता अन्धविश्वासमा बाँधिएका परिवारहरू अझै पनि महिनावारीका बेला महिलालाई गोठमा राख्छन्।’

उनका अनुसार छाउगोठ सानो, साँघुरो, अँध्यारो र असुरक्षित हुन्छ, जहाँ न त बिजुली हुन्छ न सुरक्षित सुत्ने सुविधा। ‘कालकोठरी जस्तै ठाउँमा महिलालाई राखिँदा यस्ता दुःखद घटना भइरहेका छन्,’ उनले दुःख व्यक्त गरे।

कमलाको मृत्युपछि पुनः छाउपडी प्रथा विरुद्धको कानुनी कडाइ मात्र पर्याप्त नभई गहिरो सामाजिक रूपान्तरण आवश्यक रहेको आवाज उठ्न थालेको छ। यस्ता घटना नदोहोरÞ्याउनका लागि राज्य, समाज र परिवार सबै मिलेर जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता झनै स्पष्ट भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट