मोरङमा बन्दागोभी लोड गरिएको ट्रकबाट ३१ क्विन्टलभन्दा बढी गाँजा बरामद

विराटनगर– मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। शनिबार मध्यराति बन्दागोभी लोड गरिएको ट्रकबाट ३ हजार १ सय ५० किलोग्राम (३१.५ क्विन्टल) गाँजा बरामद गरेको हो।
प्रहरी चौकी कटहरीबाट खटिएको टोलीले राति करिब १२ बजे को १ ख ४५१८ नम्बरको ट्रक रोकेर रोकेर चेकजाँच गर्दा १ सय ५ बोरामा प्याक गरिएको गाँजा बरामद गरेको हो। मोरङ प्रहरीकी डीएसपी कोपिला चुँडालका अनुसार ट्रक चेकजाँच गर्दा बन्दागोभीको बोरा मुनि लुकाइ राखेको गाँजा बरामद भएको हो।
‘शंकास्पद रूपमा आउँदै गरेको ट्रक नियन्त्रणमा लिएर जाँच गर्दा गाँजा बरामद भयो। बन्दागोभीको बोरा माथि राखिएको थियो, तल गाँजा प्याक गरेर राखिएको रहेछ। कुल तौल ३,१५० किलोग्राम नापिएको छ।’– डीएसपी चुँडालले भनिन्।
ट्रक रोकेपछि चालक भने फरार भएका छन्। ट्रकसहित गाँजा नियन्त्रणमा लिएर फरार चालकको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। हालसम्म गाँजा कहाँबाट ल्याइएको र कसको हो भन्ने खुल्न सकेको छैन। प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाँजा पहाडी जिल्लाबाट ल्याई भारत तर्फ तस्करी गर्ने योजनासहित ट्रान्जिटमा राखिएको हुनसक्ने आशंका गरिएको छ।
बरामद गाँजा र ट्रकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी चुँडालले जानकारी दिइन्। उनका अनुसार मोरङबाट एकैपटक यति ठूलो परिमाणमा गाँजा बरामद भएको यो पहिलोपटक हो।
मोरङमा पछिल्लो समय गाँजाको अवैध कारोबार तीव्र बन्दै गएको छ। यसअघि असार २५ गते धनपालथान गाउँपालिका–१, गदिया खोलानजिकैको उखुबारीबाट ८ सय २ किलो गाँजा बरामद गरिएको थियो।
गाँजाको बढ्दो तस्करीलाई मध्यनजर गर्दै मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले विशेष टोली परिचालन गरेका छन्। ‘नेपाल–भारत सीमा आसपास र तस्करी सम्भावित रुटहरूमा निगरानी कडा पारिएको छ। गाँजाको अवैध धन्दा नियन्त्रणका लागि विशेष अप्रेशन सञ्चालनमा छौं।’– उनले भने।