हनिमुनमा पतिको हत्या गरी प्रेमीसँग नेपाल भाग्ने तयारीमा रहेकी सोनम यसरी परिन पक्राउ

काठमाडौँ – हनिमुन मनाउन गएका मध्य प्रदेश, इन्दौरका राजा रघुवंशी आफ्नै नवविवाहित पत्नी सोनम रघुवंशीबाट मारिएको सनसनीपूर्ण घटनाले अहिले भारतमा व्यापक चर्चा पाएको छ।

प्रहरीले पतिको हत्या गरेको आरोपमा सोनम र उनका प्रेमी राज कुशवाहासहित पाँच जनालाई पक्राउ गरेको छ। सोनम हत्याको दिनदेखि फरार रहँदै १७ दिनपछि पक्राउ परेकी हुन्। राज इन्दौरमा निजी कम्पनीमा काम गर्थे।

मृतकका दाजु विपिन रघुवंशीका अनुसार सोनमको विवाहपूर्व नै राजसँग प्रेम सम्बन्ध थियो। यो कुरा सोनमकी आमालाई थाहा भए पनि सम्बन्ध लुकाएर जबर्जस्ती राजासँग विवाह गराइएको खुलासा भएको छ। विपिनका अनुसार सोनमले प्रेमी बाहेक अन्य कसैसँग विवाह गराए नराम्रो परिणाम हुने चेतावनी पहिले नै आमालाई दिएकी थिइन्।

विपिनले सञ्चारमाध्यमसँग भने, ‘यदि सोनमका बुबालाई यो कुरा थाहा भएको भए, उनले राज कुशवाहालाई जागिरबाट हटाइदिन्थे, त्यसैले सोनमकी आमाले कुरा लुकाइन्।’

विवाह भएको तीन दिनपछि राजा रघुवंशी र उनका परिवार अर्को विवाह समारोहमा गएका थिए। त्यही बेला राजाले परिवारसँग गुनासो गर्दै सोनम आफूसँग कुरा नगर्ने र लगातार मोबाइलमा व्यस्त रहने गरेको बताएका थिए। परिवारले त्यतिबेला नयाँ सम्बन्ध भएकाले समयसँगै सब ठीक हुने भनेर सम्झाएका थिए।

तर विपिनका अनुसार सोनमले पहिले नै पतिको हत्या गरेर प्रेमीसँग विवाह गर्ने योजना बनाएकी थिइन्। प्रारम्भिक अनुसन्धानमा पनि यही योजना पुष्टि भएको प्रहरीको भनाइ छ।

राजा र सोनमको विवाह मे ११ मा भएको थियो। उनीहरू हनिमुन मनाउन मे २० मा इन्दौरबाट मेघालय गएका थिए। तर मे २३ देखि उनीहरू सम्पर्कविहीन बने। खोजतलासका क्रममा जुन २ मा राजा रघुवंशीको शव मेघालयको पूर्वी खासी पहाडस्थित वेसाडोङ फल्स नजिकै १५० फिट गहिरो खोँचमा फेला परेको थियो। घटनापछि सोनम फरार थिइन्।

अन्ततः उनी १७ दिनपछि उत्तर प्रदेशको गाजीपुरमा फेला परिन्। प्रहरीले सोनमले प्रेमीसँग मिलेर भाडाका मानिसमार्फत पतिको हत्या गराएको आरोप लगाएको छ। घटनामा संलग्न भनिएका उनका प्रेमी राज कुशवाहा, विक्की ठाकुर, आनन्द र आकाशलाई पनि प्रहरीले पक्राउ गरेको छ।

केही भारतीय सञ्चारमाध्यमका अनुसार हत्या पछि सोनम नेपाल भाग्ने योजना बनाइरहेकी थिइन् भन्ने आशंका गरिएको छ। तर यसबारे प्रहरीले कुनै आधिकारिक जानकारी दिएको छैन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट