१७ वर्षदेखि प्रयोगविहीन खानेपानी योजना मन्त्रीद्वारा उद्घाटनः सेवा दिने हुटहुटी कि कागजी घोडा ?

विराटनगर – सामान्यतया कुनै पनि आयोजना त्यसका संरचना, उपकरण र सेवा प्रणाली पूर्ण रूपमा तयार भई प्राविधिक परीक्षणमा सफल भएपछि उद्घाटन गरिन्छ। तर नेपालमा कहिलेकाहीँ अधूरो निर्माणमै, कहिलेकाहीँ प्रयोगमा नआएको र कहिलेकाहीँ एकै संरचना पटक–पटक उद्घाटन गर्ने अस्वाभाविक चलन देखिँदै आएको छ।

कतिपयले यसलाई राजनीतिक स्वार्थ, देखावटी उपलव्धि देखाउने प्रवृत्ति र प्रचारमुखी सोचको परिणाम मान्छन्। यस्तै एउटा उदाहरण मोरङको विराटनगर महानगरपालिका–१४, जतुवामा देखिएको छ।

१७ वर्षअघि निर्माण भएर प्रयोगविहीन अवस्थामा थन्किएको खानेपानी ट्यांकीको उद्घाटन बुधबार खानेपानी मन्त्री प्रदिप यादवले गरेका छन्। स्थानीयले उपेक्षा र जीर्ण अवस्थामा रहेको भनिरहेको सो आयोजना औपचारिक रूपमा उद्घाटन भएपछि, त्यसले मन्त्रीमाथि नै प्रश्न खडा भएको छ–‘१७ वर्षपछि, त्यो पनि अधुरो आयोजनाको उद्घाटन केका लागि ?’

विसं २०६५ सालमा करिब चार करोड ५० लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त खानेपानी ट्यांकी र पाइपलाइन लामो समयदेखि बेवारिसे अवस्थामा थियो। १७ वर्षसम्म प्रयोगमा नआउँदा ट्यांकीका संरचना जीर्ण भइसकेका छन् भने पाइपलाइनहरू पनि व्यापक रूपमा क्षतिग्रस्त भएका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार यसअघि पटक–पटक सरोकारवाला निकायमा गुहार गर्दा पनि योजना अलपत्रमै थियो। योजना बनाइए पनि कहिल्यै सञ्चालनमा आएको थिएन। सडक विस्तार र मर्मतका क्रममा पाइपलाइनहरू नासिँदै गए।

अझै पनि योजना पूर्ण रूपमा तयार भइनसकेकोस्थानीयको भनाइ छ। तर, बुधबार विराटनगरको जतुवास्थित लक्ष्मीनारायण मन्दिर परिसरमा ‘जतुवा खानेपानी तथा सरसफाइ आयोजनाको स्वामित्व हस्तान्तरण गरी लिइ नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरले सञ्चालन गर्ने सेवा प्रणालीको उद्घाटन’ भन्ने ब्यानरसहित मन्त्री यादवले उद्घाटन गरे।

कार्यक्रममा मन्त्री यादवले ‘नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने सरकारको प्रतिबद्धता रहेको’ बताए। तर उद्घाटन भइसकेपछि मात्रै खानेपानी संस्थानले पाइपलाइन मर्मत गरेर सेवा सञ्चालन गर्ने तयारी गरिरहेको संस्थान प्रमुख सन्तोष रौनियारले बताए।

उक्त आयोजना विराटनगर महानगरपालिका–८, १०, १३ र १४ मा खानेपानी वितरण गर्ने उद्देश्यले निर्माण गरिएको थियो। २७ किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याइएको भए पनि योजना सञ्चालन नहुँदा अहिले ती अधिकांश पाइपलाइन प्रयोग गर्न अयोग्य भइसकेका छन्।

रौनियारका अनुसार अहिलेको योजना अनुसार, ट्यांकीबाट दैनिक १७ लाख लिटर पानी संकलन गरी करिब ६ हजार नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराइने लक्ष्य लिइएको छ। प्रति व्यक्तिले दैनिक १२५ लिटर खानेपानी पाउने व्यवस्था मिलाइने उन बताए। तर प्रश्न उठ्छ – जीर्ण संरचना र बिग्रिएको पाइपलाइन मर्मत नगरी सेवा सम्भव छ ?

स्थानीय स्तरमा यस उद्घाटनलाई ‘कागजी घोडा’ को उपमा दिईएको छ। झुठो उपलब्धि देखाउने प्रयास अन्तर्गत ट्यांकी उदघाटन गरिएको भनेर आलोचना भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *