नाजायज सम्वन्धको आरोपमा एमाले नेताले श्रीमतीविरुद्ध दर्ता गरे अदालतमा उजुरी, बदलामा श्रीमतीका ४ वटा मुद्दा

विराटनगर– नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य बालेश्वर कामतले श्रीमती नम्रता काफ्लेविरुद्ध मोरङ जिल्ला अदालतमा जालसाजीको उजुरी दायर गरेका छन्। नाजायज सम्बन्धबाट जन्मिएकी जेठी छोरीको जन्मदर्ता श्रीमतीले झुक्याएर आफनो नामबाट गराएको उनले आरोप लगाएका हुन्।
कामतले दायर गरेको उजुरीमा नम्रताले अवैध सम्बन्धबाट जन्मिएको सन्तानलाई आफ्नो नाममा दर्ता गराएको र कागजातमा जालसाजी गरेको दाबी गरिएको छ। बालेश्वरले श्रीमतीको चरित्रमा प्रश्न उठाएका छन्।
यता, नम्रताले भने श्रीमानको आरोप पूर्ण रूपमा अस्वीकार गर्दै उल्टै चार वटा मुद्दा अदालतमा दायर गरेकी छन्। उनले अंश, सम्बन्धविच्छेद, घरेलु हिंसा र गाली बेइज्जतीसम्बन्धी उजुरी दिएकी हुन्।
बालेश्वर माओवादी पृष्ठभुमीका एमाले नेता हुन। उनले नम्रतासँग जनवादी विवाह गरेका थिए। विवाह भएको केही वर्षदेखि नै उनले आफूमाथि शारीरिक र मानसिक यातना दिन थालेको आरोप नम्रताले लगाएकी छन्। उनका अनुसार, बालेश्वरले बारम्बार कुटपिट गर्ने, घरबाट बाहिर निस्कन नदिने, मोबाइल खोस्ने र चाडपर्वमा आफन्तकहाँ जान समेत रोक लगाउने गरेका थिए।
२०८० सालको तीजमा लिन आएका आफ्ना भाइलाई समेत बालेश्वरले गाली बेइज्जती गर्दै ज्यान मार्ने धम्की दिएको र त्यसपछि बाटोमा समेत निर्घात कुटपिट गरेको नम्रताको भनाइ छ। उनले ५ असार ०८० मा अंश र सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्।
त्यसपछि बालेश्वरले ‘मुद्दा फिर्ता नलिए ज्यान मार्दिन्छु’ भनेर पटक–पटक धम्की दिएको भन्दै नम्रताले थप दुई वटा मुद्दा दायर गरेकी हुन्।
नम्रताको भनाइ अनुसार बालेश्वरले बारम्बार धम्की दिने गरेका कारण उनी लामो समयदेखि माइती बस्दै आएकी छन्। धम्कीका डरले आफूले मोबाइलसमेत प्रयोग गर्न छाडेको उनको भनाई छ।