‘ललिता साहको नाम बचाउन प्रहरी अनुसन्धानमै सेन्सरः प्रमाण छ, अभियोग पत्रमा प्रतिवादी छैन’

राजविराज– तीन महिनाअघि सीडीओ भोला दाहालको नेतृत्वमा सप्तरी सदरमुकाम राजविराज–९, मलेठस्थित राजनारायण साह (नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिताकुमारी साहका श्रीमान) र पवित्रिदेवी साहु (ललिताकी आमा) को घरमा रहेको गोदामबाट छापा मारेर बरामद गरिएको गाँजासम्बन्धी मुद्दा अदालतमा प्रवेश गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले लामो अनुसन्धानपछि तयार पारेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले १८ जेठ ०८२ मा उक्त मुद्दा (अभियोग पत्र) सप्तरी जिल्ला अदालतमा दायर गरेको हो।
अभियोग पत्रमा भारतको विहारस्थित मधुबनी, कुकुरदौरा–१०, छातापुर धाता टोलका ६६ वर्षीय रामनारायण यादव, सप्तरीको खडक नगरपालिका–१०, डेंग्राहीका २६ वर्षीय देवनारायण पासमान, छिन्नमस्ता गाउँपालिका–४ का ३४ वर्षीय राजेशकुमार यादव, महादेवा गाउँपालिका–४ का ४९ वर्षीय राजनारायण साह, खडक नगरपालिका–४ की ६७ वर्षीया पवित्रीदेवी साहु, डाकनेश्वरी नगरपालिका–८ की ५४ वर्षीया राजकुमारी देवी (प्रियान्सु जेनरल स्टोरकी प्रोप्राइटर), सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का ४२ वर्षीय निरेन्द्रकुमार साहु (ट्रक धनी) र अर्नाहा गाविस–८ का ४३ वर्षीय इजहारुल हक (ट्रक धनी) लाई प्रतिवादी बनाइएको छ।
प्रतिवादीमध्ये रामनारायण यादव र देवनारायण पासमान पक्राउ परिसकेका छन् भने अन्य सबै फरार छन्।
सीडीओ दाहालको नेतृत्वमा १९ फागुन ०८१ मा प्रहरीले गोदाममा छापा मारेको थियो। सो क्रममा गोदामबाट भारतीय नम्बर प्लेट भएका स्कारपिओ र कार, ८० बोरा (कुल २४५१.५ किलोग्राम) गाँजा, डिजिटल तराजु, लत्ता कपडा राखिएका बोरा, हार्डवेयर सामग्री, सुर्तीजन्य वस्तुहरू, चिनी, ‘गायत्रीकुमारी यादव, राजकुमारी यादव, राजेशकुमार यादव, जिवछ यादव, जगदेव यादव, हिमांश यादव र प्रियांशु यादव’ को नाममा भएका विभिन्न कागजात ‘हिमांशु स्टोर’को विल, स्याउ लोड भइरहेका दुई वटा ट्रक बरामद गरिएको थियो। यस क्रममा को१ख ५२१५ नम्बरको ट्रकका चालक देवनारायण पासमान र गोदामको रेखदेख गरिरहेका भारतीय नागरिक रामनारायण यादव पक्राउ परेका थिए।
अभियोग पत्रमा उल्लेख भएअनुसार रामनारायण यादव, देवनारायण पासमान, राजेशकुमार यादव, राजनारायण साह, पवित्रीदेवी साहु र राजकुमारी देवीले आपसी मिलेमतोमा प्रियान्सु जेनरल स्टोर, राजनारायण साह र पवित्रीदेवी साहुको घर तथा जग्गा प्रयोग गरी गाँजा तस्करी गरेका थिए।
अभियोग पत्रमा भनिएको छ– ‘…उनीहरूले ठूलो मात्रामा गाँजा खरिद गरी विभिन्न तौल अनुसारको बोरामा प्याक गरेर नेपाली तथा भारतीय नम्बर प्लेट भएका गाडीमार्फत नेपाल र भारतका विभिन्न स्थानमा बिक्री वितरण गर्ने उद्देश्यले निकासी, पैठारी, सञ्चय गरी गाँजाको खरिद–बिक्री, ओसारपसार, निकासी, पैठारी तथा सञ्चय गरेको पाइयो।’
उक्त कार्य लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(क) अन्तर्गत निषेधित कसूर ठहर भएकाले दफा १४(१) को देहाय (घ) (५) बमोजिम सजाय माग गरिएको छ। उक्त दफाबमोजिम गाँजा उत्पादन, तयारी, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसार–पसार वा सञ्चय गर्ने व्यक्तिलाई २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ।
साथै, लागू औषध भण्डारण गरिएको तत्कालिन मलेठ गाविस–१ कि.नं. १६१२ को ०–१–१५ र कि.नं. १६१७ को ०–१–३ १/२ जग्गा तथा सोही जग्गामा निर्माण गरिएको घरलाई ऐनको दफा १५ बमोजिम जफत गर्न माग गरिएको छ। सो दफाबमोजिम कसैले आफ्नो घर, जग्गा वा सवारीसाधन जानाजान लागू औषध अपराधको प्रयोजनका लागि प्रयोग गर्न दिएमा ६ महिनादेखि ५ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना तथा सो सम्पत्ति जफत गर्न सकिने व्यवस्था छ।
त्यस्तै, बरामद भएका को१ख ५२१५ र ना.५ख.५९५१ नम्बरका ट्रक, भारतको डब्लुबी७४एएम१५५८ नम्बरको कार र बीआर०जेबी९७३५ नम्बरको स्कारपिओ गाडी समेत लागू औषध ऐनको दफा १८ र कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत गर्न माग गरिएको छ।
तर, अभियोग पत्रमा एक महत्वपूर्ण कुरा छुटाइएको छ। उक्त गोदामबाट सयौं बोरा ‘सेनिटरी प्याड’ समेत बरामद गरिएको थियो, जसलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीको हाताभित्रै भण्डारण गरेर राखेको थियो। सो सेनिटरी प्याड ललिताकुमारी साहको कम्पनी ‘लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स’ को भएको सर्वविदित तथ्य हो। सार्वजनिक रूपमा तस्बिर र भिडियोमा देखिएका प्याडका बोरा र लेबलले यसबारे पुष्टि गर्छन्।
ललिताकुमारी साह उक्त प्याड आपूर्ति प्रकरणमा यसअघि देखि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दा खेपिरहेकी छन्। रुपनी गाउँपालिकामा विद्यालयका बालिकाका लागि सेनिटरी प्याड आपूर्तिमा गरिएको भ्रष्टाचार पुष्टि भएपछि उनले २३ लाख २२ हजार रुपैयाँ फिर्ता गरेकी थिइन्। यही आधारमा विशेष अदालतले उनलाई सफाई दिएको थियो। तर, सफाइ दिने फैसलाविरुद्ध आयोगले सर्वोच्च अदालतमा पुनरावेदन समेत गरिसकेको छ।
यसरी भ्रष्टाचार मुद्दा खेपिरहेकी, हाल नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रहेकी ललिताकुमारी साहकै कम्पनीको सेनिटरी प्याड गाँजा गोदाममा भेटिनुले उक्त गोदाम साझेदारीमा सञ्चालित भएको पुष्टि गर्छ। श्रीमान राजनारायण साह र आमा पवित्रीदेवी गाँजा तस्करीमा प्रतिवादी ठहरिएकै छन्। यसले ललिताकुमारी साहको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
तर, प्रहरीको ९० दिन लामो अनुसन्धानपछि तयार भएको मिसिलमा सेनिटरी प्याडको उल्लेख एक शब्दमा पनि गरिएको छैन। यो तथ्यले अनुसन्धानलाई प्रभावित पारिएको पुष्टि गर्छ। प्रहरी र सरकारी वकिल कार्यालयले यस विषयमा जानाजान आँखा चिम्लिएको कतिपयले आरोप लगाएका छन्।
गोदाममा गाँजा बरामद भएकै दिनदेखि यो प्रकरणमा चलखेल सुरु भएको थियो। ललिताकुमारी साहको संलग्नताबारे बोल्ने पत्रकारहरूलाई धम्की दिइयो। समाचार लेख्ने सञ्चारमाध्यमहरूलाई महासंघमार्फत उजुरी र दबाब दिइयो। प्रेस काउन्सिलमा उजुरी पठाइयो। पत्रकार महासंघ सप्तरी शाखाका अधिकांश पदाधिकारी सुरुदेखिनै ललिताको पक्षमा लागे। समाचार लेख्ने पत्रकारका विषयमा सामाजिक सञ्जालमा लेख्ने देखि प्रहरी प्रशासनमा गएर ललितालाई जोगाउनु पर्छ भन्दै लविङ गर्ने काममा पत्रकार महासंघका पदाधिकारी खुलेरै लागेका थिए। त्यो अवस्था अहिले पनि कायमै छ। सुरु देखि नै यस्ता कार्यहरू अनुसन्धान प्रभावित पार्ने नियोजित प्रयत्नका रूपमा देखिन्छन्।
अन्ततः अभियोग पत्र दर्ता हुँदा समेत ललिताकुमारी साहको नाम पूर्णरूपमा छुटाइएको छ। मिसिलमा सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित बुँदामा मात्र उनको नाम संकेत गरिएको छ, तर अभियोगमा समावेश गरिएको छैन। यो कार्यले अनुसन्धानको निष्पक्षता र कानुनी प्रक्रियाको विश्वसनीयता दुवैप्रति गम्भीर प्रश्न खडा गरेको छ।
उक्त गोदामको स्वामित्व, बरामद भएको गाँजा र सेनिटरी प्याड, पक्राउ परेकाहरूका बयान, प्रहरीको निष्कर्ष, र ललिताकुमारी साहको हैसियत सबैले उनी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको प्रमाणित गर्छन्। अव यो प्रकरण केबल लागू औषध कारोबारको मुद्दा नभई पत्रकारिता, प्रशासन, कानुनी प्रक्रिया र न्यायिक निष्पक्षता सम्बन्धी संकटको विषय बनेको छ।
यस विषयमा सप्तरीका एसपी ढकेन्द्र खतिवडाले भने सेनिटरी प्याडको विषय लागु औषधसँग सम्वन्धित नभएकोले उनलाई प्रतिवादी नवनाईएको बताएका छन्।
यस विषयमा ललिताकुमारी साहसँग भने सम्पर्क हुन सकेको छैन।