सप्तरीमा एसपी सरुवा प्रकरणः गाँजा प्रकरणका खतिवडालाई हटाएर पहिरो प्रकरणमा जिम्मेवारी खोसिएकालाई जिम्मेवारी

राजविराज– गाँजा प्रकरणमा विवादमा तानिएपछि सप्तरीका एसपी ढकेन्द्र खतिवडाको सरूवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले उनीमाथि आर्थिक आचरणविरुद्धको काममा संलग्न भएको आशंकामा कारबाही प्रक्रिया अघि बढाउँदै बागमती प्रदेश प्रहरी कार्यालयमा काज सरूवा गरेको हो।

उनको स्थानमा यसअघि नै जिम्मेवारी पुरा गर्न नसकेको आरोपमा कारबाही भोगिसकेका एसपी गौतम केसीलाई पठाइएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विनोद घिमिरेका अनुसार, खतिवडामाथि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले छानबिन सुरु गरिसकेको छ। छानबिनका लागि एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा समिति गठन भएको छ।

सप्तरीमा पछिल्लो समय गाँजा प्रकरण चर्चामा छ। यही प्रकरणमा विवादित बनेपछि एसपी खतिवडाको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ।

तर, उनको ठाउँमा पठाइएका गौतम केसी पनि विवादमा परेर जिम्मेवारी खोसिएका एसपी हुन। केसी धादिङका एसपी हुँदा ०८१ असोज ११ र १२ गते धुनीवेशी नगरपालिका–९ झ्याप्लेखोलामा गएको भीषण पहिरो प्रकरणमा प्रत्यक्ष आलोचित प्रहरी अधिकृत हुन्। त्यो घटनामा प्रशासनको लापरबाहीका कारण ३५ जनाको ज्यान गएको छानबिन समितिको ठहर छ।

धादिङमा त्यतिबेला सीडीओ राजेन्द्रदेव पाण्डे र एसपी केसी थिए। उनीहरुले मौसम पूर्वानुमान महाशाखाले पहिरोको गम्भीर सम्भावना बताइरहँदा पनि सवारी रोक्ने निर्णय नगरेको, कुनै तयारी नगरेको र आपसी समन्वय नगरेको समितिले निष्कर्ष निकालेको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत राजमार्गमा सवारी रोक्न सूचना दिँदा बेवास्ता भएको प्रमाण समितिले फेला पारेको थियो। सोही लापरबाहीका कारण गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा २ ख १३४५ नम्बरको माइक्रो र लु १ ज ४५७७ नम्बरको विंगर झ्याप्लेखोलामा पुरिएर ३५ जनाको मृत्यु भएको थियो।

सो घटनापछि एसपी केसी र सीडीओ पाण्डे दुवैलाई तत्काल जिम्मेवारीबाट हटाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट