छोराछोरीको विचल्ली पारेर दोस्रो विवाह गरेको रिसमा विदेशबाट फर्किएको साता नपुग्दै श्रीमतीको छुरा हानेर हत्या

राजधानी– आफू विदेश गएपछि धोका दिएर दुई छोराछोरीको विजोग पारी दोस्रो विवाह गरेर हिँडेको रिस थाम्न नसकेर प्युठानका एक युवकले नेपाल फर्केको साता नपुग्दै पूर्वश्रीमतीमाथि छुरा प्रहार गरी हत्या गरेका छन्।
यो कुनै चलचित्रको काल्पनिक कथा होइन—प्यूठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा घटेको एउटा कठोर यथार्थ हो। जहाँ प्रेम, विश्वासघात र प्रतिशोधको घट्नाक्रमले एक महिलाको ज्यान गएको छ। यतिमात्रै होईन, दुई नाबालकको भविष्य पनि अन्धकारमा धकेलिएको छ।
ऐरावती गाउँपालिका-२ कात्तिकेका ३० वर्षीय लीलबहादुर बराल तीन वर्ष अगाडि जीवन र परिवारका सपनाहरू बोकेर इजरायल पुगेका थिए। उनी त्यहाी पसिना बगाइरहँदा घरमा भने समयले बिस्तारै उल्टो मोड लिँदै थियो। उनकी पत्नी तथा २ सन्तानकी आमा २८ वर्षीया रुक्मणी बरालले अर्कै पुरुषसँग घरजम गरिसकेकी थिइन्। गत वैशाखमा दिपक परियारसँग विवाह गरेकीरुक्मणी जेठानी डिला परियारको घरमा बस्थिन्। ठेक्कापट्टा गर्ने दिपक अहिले कामको सिलसिलामा संखुवासभामा छन् ।
असार २४ मा घर फर्किएका लीलबहादुरले आफ्नी पूर्वश्रीमतीको जीवनमा अर्कै व्यक्ति कब्जा गरेको थाहा पाएपछि उनीभित्रको आक्रोश र अपमानले सीमा नाघ्यो। मंगलबार बिहान करिव साढे ९ बजे उनले रुक्मणीलाई फोन गरे र डिलाको घरमै पुगे। त्यहा पुगेपछि उनले चक्कु निकालेर रुक्मणीमाथि भकाभक आक्रमण सुरु गरे।
‘मैले रोकें, चिच्याएँ, नहान्नु भनेर कराएँ। तर उनले सुन्दै सुनेनन्। आँखै अगाडि रुक्मिणीको ज्यान गयो।’– डिलाले भनिन्। हत्या पछि प्रहरीले लीलबहादुरलाई घटनास्थलबाटै नियन्त्रणमा लियो। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले दिएको जानकारी अनुसार, लीलबहादुरले आफू विदेशमा हुँदा पत्नीले धोका दिएको र फर्केर आएपछि पनि आफुसँग बस्न अस्वीकार गरेपछि हत्या गर्न बाध्य बनाएको बताएका छन्।
‘म कमाउन विदेश गएको थिएँ, उ अर्कैसँग रमाउन थालिछे। बच्चाहरू सानै थिए। म फर्केपछि फेरि सँगै बसौं भनें, मानिन। कुनै विकल्प नरहेपछि रिसको आवेगमा हत्या गरें।’ उनले प्रहरीलाई भनेको डीएसपी दीपेश बस्यालले जानकारी दिए।
रुक्मणी र लीलबहादुरबाट जन्मिएका ६ वर्षका छोरा र साढे ३ वर्षकी छोरी अहिले आमाको मृत्यु र बाबु प्रहरी हिरासतमा पुगेपछि बिचल्लीमा परेका छन्। यो हत्या केवल व्यक्तिगत रिसइबीको परिणाम मात्रै होइन— जिवन धान्न विदेसिनै पर्ने वाध्यताको उपज भएको स्थानीयवासीहरु बताउँछन्।