मोरङमा पाँच वर्षीया बालिकाको शव फेला, बलात्कारपछि हत्या गरिएको आशंका

विराटनगर– मोरङको धनपालथान गाउँपालिका–६ बबियामा शनिबार बिहान एक पाँच वर्षीया बालिकाको शव फेला परेको छ।

स्थानीय अक्षय सरदारकी छोरी आत्तिका सरदारको शव फेला परेको हो। घटना बलात्कारपछि हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बालिका शुक्रबार राति करिब ३ बजे आफ्ना बाबुआमासँगै सुतिरहेको अवस्थामा बेपत्ता भएकी थिइन्।

अभिभावकले बिहान करिब ५ बजे बालिका हराएको भन्दै प्रहरी चौकी कर्सियामा खबर गरेका थिए। त्यसपछि प्रहरीले खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाहिर सडक छेउमा बालिकाको शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले जानकारी दिए।

घटनास्थल पुगेका प्रहरी टोलीका अनुसार बालिकाको अनुहार, घाँटी र शरीरका विभिन्न भागमा चोटपटकका डाम देखिएका छन्। डीएसपी कोपिला चुँडालले प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको आशंका गर्न सकिने बताइन्।

‘घटनाको प्रकृति हेर्दा यस्तो देखिन्छ, अनुहार र घाँटीमा चोटपटक छन्, विस्तृत पुष्टि पोष्टमार्टमपछि हुन्छ,’ डीएसपी चुँडालले भनिन्। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त टोली परिचालन गरिएको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाएर आवश्यक प्रमाण संकलन गरेको छ। घटनाको अनुसन्धानलाई अगाडि बढाउँदै प्रहरीले एक जनालाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको जनाएको छ। ‘हामी अनुसन्धान गरिरहेका छौं, केही व्यक्तिलाई बयानका लागि बोलाएका छौं,’ एसपी चिमरियाले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट