सप्तरीमा दलित युवकको हत्या प्रकरणः परस्त्रीगमनको भयानक रुप, बलात्कारको बदला हत्या !

राजविराज — सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ का ३२ वर्षीय राजकुमार खंगको हत्या प्रकरणको पटाक्षप भएको छ। हत्या आरोपमा डाक्नेश्वरी–९ की २१ वर्षीया तुलसी देवी सरदार पक्राउ परेकी छिन्।
सामान्य सांस्कृतिक सहकार्यका रूपमा सुरु भएको उनीहरुको सम्बन्ध क्रमशः अस्वीकृत प्रेम र आरोप–प्रत्यारोपमा बदलिँदा ज्यान जाने अवस्थामा पुगेको प्रहरी अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार राजकुमार र तुलसी दुवै स्थानीय कलाकार हुन। उनीसँग लामो समयदेखि संगतमा थिए। तुलसीका श्रीमान लामो समयदेखि विदेशमा छन् भने राजकुमार पनि विवाहित हुन। कलाकार भएका कारण विभिन्न सांस्कृतिक कार्यक्रममा बारम्बार भेट हुँदा उनीहरूबीच निकटता बढेको थियो।
स्थानीयहरूले समेत यी दुईको सम्बन्धबारे आआफ्नै अड्कलबाजी गर्दै आएका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानमा थाहा पाएको विवरण अनुसार, करिब तीन साता अघि उनीहरू एकान्त स्थानमा बसेर मदिरा सेवन गरेका थिए। त्यस वेला राजकुमारले आफनो इच्छा विपरित बलात्कार गरेको तुलसीको आरोप छ।
त्यसपछि बलात्कारको आरोपको पृष्ठभूमिमा दुबैबीच मनमुटाव चुलिएको थियो। घटनाको तीन दिनअघि राजकुमारले ‘जरुरी काम छ’ भन्दै फोनमा तुलसीलाई बोलाए। तुलसीले आफूमाथि फेरि बलात्कारको प्रयास हुन सक्ने शंका गरेकी थिइन्। सोही कारण उनले आत्मरक्षाका लागि चक्कु बोकेर गएको प्रहरीको भनाइ छ।
त्यहाँ पुगेपछि मदिरा सेवन गर्न दबाब परेको र उनले पिएको बहाना गर्दै रक्सी फालेको बताइएको छ। जब राजकुमारले फेरि नजिकिन खोजे, बलात्कारको प्रयास गरे– तुलसीले लुकाएको चक्कु निकालेर छाती र घाँटीमा प्रहार गरिन्।
घटनास्थलमै ज्यान गएको पुष्टि भएपछि उनले राजकुमारको शव करिब ५० मिटर घिसारेर लबका पोखरीको डिलमा छाडेर भागेकी थिइन्। बिहीवार बिहान राजकुमारको शव अर्धनग्न अवस्थामा फेला परेको हो।
सप्तरीका डीएसपी जीतेन्द्र कुमार बस्नेतका अनुसार पक्राउ परेकी तुलसीले प्रारम्भिक बयानमै घटनाको जिम्मेवारी स्वीकार गरेकी छन्। उनको साथबाट मृतकको मोबाइल र हत्या गर्न प्रयोग गरिएको चक्कु समेत बरामद गरिएको छ।
शुक्रवार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार ‘यो घटनाले गाउँमा गोप्य प्रेम सम्बन्ध र त्यसबाट हुने तनावलाई उजागर गरेको छ।’ स्थानीयहरूले घटनापछि गाउँमा असाध्यै सनसनी फैलिएको बताएका छन्।
प्रहरीले अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गर्ने जनाएको छ।