श्रीमतीको हत्या गरी फरार रहेका मन्सुरी तीन वर्षपछि पक्राउ

जनकपुर— श्रीमतीको हत्या गरी तीन वर्षदेखि फरार रहेका रौतहटका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको इशनाथ नगरपालिका–४ घिउरा टोलका फैयाद मिया मन्सुरी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।
मन्सुरीमाथि २०७८ माघ २६ गते आफ्नी श्रीमती २० वर्षीया चाँदनी खातुनको हत्या गरेको आरोप लागेको छ। घटना भएको दिन चाँदनी घाँटीमा सल बेरेको र मुखमा समेत सल कोचिएको अवस्थामा मृत फेला परेकी थिइन्।
प्रहरीले घटनास्थल नजिकैको गहुँ खेतमा मन्सुरीले नै श्रीमतीको हत्या गरेको दाबी गरेको छ। हत्या पश्चात उनी फरार हुँदै आएका थिए। लामो खोजीपछि पक्राउ परेका मन्सुरीविरुद्ध रौतहट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया