महोत्तरीमा नाबालिका बलात्कारपछि हत्या प्रकरणः छोराको अपराध ढाकछोप गर्न मद्दत गर्ने बुवा–आमा पक्राउ

जनकपुर– महोतरीमा छोराले गरेको ‘नाबालिका बलात्कार र हत्या’ जस्तो जघन्य अपराधलाई लुकाउन बुवा–आमाले समेत मिलेमतो गरेको खुलासा भएको छ। घट्ना भएको चार वर्ष सात महिनासम्म फरार रहेका बुवा–आमालाई महोतरी प्रहरीले पक्राउ गरेर यसको खुलासा गरेको हो।
प्रहरीका अनुसार घट्ना ०७७ मंसिर ७ गतेको हो। बर्दिबास नगरपालिका–१४ मा ६ वर्षीया गुलावसा खातुनको बलात्कारपछि हत्या भएको थियो। बर्दिबास–१४ का अरुणकुमार साहले नाबालिकालाई ललाइफकाइ घर लगेर बलात्कार गरेका थिए। त्यसपछि शव बोरामा हालेर झाडीमा लुकाउन आमा–बुवासमेतले सघाएका थिए।
घटनापछि अरुणकुमार साह तत्काल पक्राउ परे पनि उनका बुवा ६० वर्षीय राजकिशोर साह र आमा ५१ वर्षीया शुशिला देवी भारततर्फ भागेका थिए। आफन्तलाई भेट्न नेपाल फर्किएका बेला उनीहरुलाई पक्राउ गरिएको महोतरी प्रहरीका एसपी हेरम्ब शर्माले बताए।
प्रहरी अनुसन्धानमा घट्नामा परिवारका तीनै जनाको भूमिका प्रस्ट भएको छ। ‘छोराले बलात्कारपछि बालिकाको हत्या गरेपछि प्रमाण लुकाउन बोरामा राखी झाडीमा फाल्न बुबाआमाले सघाएका थिए’– प्रहरी उपरीक्षक शर्माले भने।
पक्राउ परेका राजकिशोर र शुशिला देवीलाई अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा महोतरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। अपराध लुकाउन परिवारकै संगठित संलग्नता भएको घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ। ‘छोराको अपराध ढाकछोप गर्न बुवा–आमाले यसरी मिलेमतो गर्लान् भन्ने कल्पना थिएन’– एक स्थानीयले भने।