सिरहा अस्पतालमा सुई लगाएपछि बालकको मृत्यु, अस्पतालमा तोडफोड र झडप, १० जना घाइते

लहान– उपचारका क्रममा बालकको मृत्यु भएपछि सिरहा सदरमुकाम स्थित प्रादेशिक अस्पताल तनावग्रस्त भएको छ। चिकित्सकको लापरबाहीका कारण बालकको ज्यान गएको भन्दै मृतकका आक्रोशित आफन्त र स्थानीयले प्रदर्शन गरेका छन्।

सिरहा नगरपालिका–६ बसविट्टाका झल्लु महराका १० वर्षीय छोरा राजन महरा दुई दिनदेखि लगातार ज्वरोले ग्रस्त थिए। आइतबार बिहान उनलाई अस्पताल भर्ना गरिएको थियो। तर, साँझ ५ बजेतिर राजनको मृत्यु भयो।

मृत्युपछि आक्रोशित आफन्त र गाउँलेले अस्पताल परिसरमा तोडफोडको प्रयास गरे। उनीहरूले अस्पताल अगाडि सडक समेत अवरुद्ध गरेपछि अवस्था थप तनावग्रस्त बन्यो। स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

झडपका क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास समेत प्रहार गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए। घटनामा ९ जना प्रहरी र १ जना स्थानीय गरी १० जना घाइते भएका छन्।

मृतककी ठूलीआमा सोभा महराले भनिन्–‘दूध र बिस्कुट खुवाएर ल्याएका थियौं, सुई लगाएपछि तुरुन्तै चिच्याएर छोराको ज्यान गयो।’ उनले चिकित्सकको लापरबाहीका कारण राजनको मृत्यु भएको उनले आरोप लगाइन्।

मृतकका आफन्तले दोषी चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवलाई कारबाही गर्न माग गर्दै प्रदर्शन जारी राखेका छन्। अस्पताल क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। तनाव र आक्रोश कायमै रहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट