इटहरी उपमहानगरमा बजेट पास हुन नसक्दा बजेट होलिडे, मेयरको आरोप एमालेमाथि

इटहरी— सुनसरीको इटहरी उपमहानगरपालिकामा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरिएको बजेट नगरसभाबाट पारित हुन नसकेपछि उपमहानगर ‘बजेट होलिडे’ मा प्रवेश गरेको छ। आन्तरिक विवाद र दलगत तानातानका कारण बजेट पारित हुन नसकेको हो।

बुधबार बसेको नगर सभाको १६औँ बैठकले विनियोजन विधेयक, अर्थ विधेयक र राजस्व दररेट पारित गर्न अस्वीकार गरेपछि नगरसभाको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ। बजेट पारित नभएपछि उपमहानगरको खर्च रोकिएको हो।

नगरप्रमुख हेमकर्ण पौडेलले बजेट पारित हुन नदिन नेकपा एमाले इटहरीका नेताहरूले जानाजान अवरोध गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘नेकपा एमाले इटहरीका नेताहरूले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित भयो। इटहरीबासी बजेटबाट विमुख भए।’

उनका अनुसार नगरको आवश्यकता, योजना र प्राथमिकता अनुसार बजेट तयार पारिएको थियो। तर, केही वडाका जनप्रतिनिधिहरूले आफ्नो वडामा अस्वाभाविक रूपमा बढी बजेट माग गरेपछि समन्वय असम्भव भयो र त्यसले बजेट प्रक्रिया अवरुद्ध गरायो।

यसअघि उपमेयर संगीता चौधरीले असार १० गते नगरसभामा २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन्। बजेटमा चालू खर्चतर्फ १ अर्ब ४ करोड ११ लाख, वित्तीय व्यवस्थामा ९० लाख र पुँजीगत खर्चतर्फ १ अर्ब ३० करोड १९ लाख विनियोजन गरिएको थियो।

चौधरीका अनुसार विधेयकहरू स्पष्ट र पारदर्शी रूपमा नआएको भन्दै नगरसभा सदस्यहरूले विरोध जनाएका थिए। वडाबाट छनोट गरिएका योजनाहरूसमेत लुकाएर बजेट पास गर्न खोजिएको आरोप पनि जनप्रतिनिधिहरुले लगाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट