मेयरको धम्कीपछि तनावमा रहेका रौतहटका पत्रकार रवीन्द्रको झुण्डिएर मृत्यु

जनकपुर– रौतहटको कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय पत्रकार रवीन्द्र प्रजापतिले आत्महत्या गरेका छन्। उनी शनिवार साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए।
परिवारका सदस्यहरूले तत्कालै पासो काटी उपचारका लागि अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ।
प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए। उनी रेडियोमा समाचार वाचन गर्ने, लेख्ने र सम्पादन गर्ने काम गर्थे। केही समयदेखि उनले कटहरिया नगरपालिकामा देखिएको खानेपानी समस्या सम्बन्धी समाचार प्रकाशन गरेका थिए। सोही समाचारका कारण उनलाई नगर प्रमुख अजयप्रकाश जयसवालबाट गम्भीर धाकधम्की दिइएको स्थानीयको भनाइ छ।
परिवार र नजिकका स्रोतका अनुसार मेयरको धम्कीपछि उनी मानसिक तनावमा थिए र डरका कारण घरबाहिर जान छाडेका थिए। यसअघि, पत्रकार प्रजापतिलाई मेयर जयसवालले गालीगलौज गर्दै धम्की दिएको घटनाको विरोधमा प्रेस चौतारी नेपाल, रौतहट शाखाले जेष्ठ २९ गते विज्ञप्ति जारी गरेको थियो।
चौतारी अध्यक्ष अशोक पहाडीले विज्ञप्तिमार्फत मेयरविरुद्ध छानबिन गरी आवश्यक कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका थिए। तर, गरुडाका डिएसपी राजन कार्कीले भने आफूलाई मेयरको धम्कीको विषयमा जानकारी नभएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मेयरले धम्की दिएको भन्ने कुरा थाहा भएन। घटनाको अनुसन्धान भइरहेको छ।’