सिन्धुलीमा धारिलो हतियार प्रयोग गरी भारतीय तीर्थयात्रीको हत्या

सिन्धुली— सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर क्षेत्रमा सोमबार धारिलो हतियार प्रहार गरी एक जना भारतीय तिर्थ यात्रीको हत्या गरिएको छ।
भारतबाट मधुगंगा महादेव दर्शन गर्न आएका तीर्थ यात्रीहरुका बीचमा आपसममै विवाद हुँदा २५ वर्षीय पंकजकुमार भगतको हत्या भएको हो। प्रहरीका अनुसार उनी भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको भवदेवपुर वडा नं. ११ का बासिन्दा हुन्।
सिन्धुली प्रहरीका एसपी लालध्वज सुवेदीले मृतकको सनाखत उनका माइला दाजु रञ्जित भगतले गरेपछि पहिचान खुलेको जानकारी दिए। प्रहरीले घटनास्थल लामिडाडाबाट चुप्पी र खुर्पा जस्ता धारिला हतियार बरामद गरेको छ।
ती हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको अनुमान छ। घटनामा संलग्न भएको आशंकामा भारतीय तीर्थयात्रीकै समूहका अन्य सदस्यको खोजी भइरहेको प्रहरीको भनाइ छ।
त्यसैगरी सोही मन्दिर दर्शन गर्न आएका अन्दाजी ५०–५५ वर्षका अर्का एक पुरुष पनि मृत अवस्थामा फेला परेका छन्। तर, हालसम्म उनको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।