‘पाल्न सक्दिन’ भन्दै नवजात छोराको हत्या गरी फरार रहेका बाबु १० महिनापछि पक्राउ

पोखरा— पोखरामा झण्डै १० महिनाअघि सडकछेउमा फालिएको नवजात शिशुको शव प्रकरणमा संलग्न अभियुक्त बाबुलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९, नागढुंगा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछाने छन्। सुत्केरी व्यथा लागेकी श्रीमतीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन लाँदा उनलाई प्रहरीले पक्राउ गरेको हो।

०८१ असोज १३ गते साँझ ५ बजे पोखरा–१४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलाभित्र फलाटिनको कपडाले बेरी, रातो गुलाबी रंगको ब्लाङ्केटमा बेरेर फालिएको नवजात शिशुको शव फेला परेको थियो।

शवको पोस्टमार्टम गर्दा शिशुको टाउको र घाँटीमा गम्भीर चोट रहेको पुष्टि भएको थियो, जसको कारण मृत्यु भएको अनुसन्धानले देखाएको थियो। प्रहरीले त्यसपछि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।

लगभग १० महिनासम्म फरार रहेका लामिछानेलाई उनकी श्रीमतीलाई अस्पताल ल्याउने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

प्रारम्भिक बयानमा लामिछानेले नवजात शिशुलाई आर्थिक अभावका कारण पाल्न नसकिने भन्दै जबर्जस्ती फालेको स्वीकार गरेका छन्। उनले श्रीमतीको असहमति हुँदाहुँदै आफैंले जबर्जस्ती शव सडकछेउमा फालेको बताएका छन्।

घटना शिशु जन्मिएर अस्पतालबाट डिस्चार्ज भएको केही दिनमै घटाइएको खुलेको छ। लामिछानेलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट