सप्तरीको मोहनपुरमा सर्पदंशबाट ५० वर्षीया महिलाको मृत्यु

राजविराज– सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं–६, मोहनपुरकी ५० वर्षीया संगिता राई छिन्।
वडा अध्यक्ष अशोक कुमार आचार्यका अनुसार उनी स्थानीय इन्द्र बहादुर राईकी पत्नी हुन्। बुधबार राति करिब ९ बजे विषालु सर्पले डसेपछि संगितालाई तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो।
तर अवस्था गम्भीर हुँदै गएपछि उपचारको क्रममा राति १२ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए। शवलाई अन्त्येष्टिका लागि घर लाने तयारी भइरहेको छ।
स्थानीयहरूका अनुसार, खडेरीका कारण विषालु सर्पहरूको विगविगी छ। सर्पहरु घरभित्रै पस्न थालेका छन्। यसले गाउँमा थप त्रास फैलिएको छ। सुरक्षाका लागि सावधानी अपनाउन वडा कार्यालयमार्फत स्थानीयवासीलाई सचेत गराउने तयारी भइरहेको वडा अध्यक्ष आचार्यले बताए।