‘घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई शुभकामना’ भन्दै प्रेमीले आफनै ज्यान लिएपछि युवती हिरासतमा

राजधानी— ‘बाउआमाको बुढेसकालको सहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्ज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया’ भन्दै फेसबुकमा स्टाटस लेखेर केही दिनअघि ललितपुरको चापागाउँका २७ वर्षीय टिकटकर रिनेश घिमिरेले आत्महत्या गरेपछि एक २५ वर्षीया युवतीको अहिले प्रहरी हिरासतको बास भएको छ।

आत्महत्या दुरुत्साहनको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। दोलखा घर भई काठमाडौँको नयाँ बजारमा आमासँग बस्दै आएकी ती युवतीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नियन्त्रणमा लिएको हो। उनी टिकटकमा लाइभ बस्ने गर्थिन् भने उनकी आमा सानोतिनो व्यवसाय गर्छिन्।

रिनेशले आत्महत्या गर्नु अघि फेसबुकमा स्टाटससहित प्रेमिकालाई लक्षित गर्दै तीनवटा फोटो पोस्ट गरेका थिए। उक्त स्टाटस केहीबेरमै भाइरल भएको थियो। स्टाटसमा प्रेमिकाप्रति गुनासो र व्यथा पोख्दै उनले आफ्नो ज्यान लिए।

यस घटनापछि प्रेमिकाले समेत उक्त पोस्टमा प्रतिक्रिया दिँदै आफू मानसिक रूपमा अत्यन्त कमजोर अवस्थामा पुगेको लेखेकी थिइन्। त्यसपछि प्रहरीले घटनाको गम्भीरता बुझ्दै उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

प्रहरीसँगको बयानमा ती युवतीले आफू पनि पीडित भएको दाबी गरेकी छन्। ‘उहाँ (रिनेश) जतिबेला पनि ‘मरिदिन्छु’ भनेर घुर्की लगाउनुहुन्थ्यो। म आत्तिन्थे। घट्नाको अघिल्लो रात मलाई नै कुटपिट गरेर जानु भएको थियो।’– उनले भनेकी छन्। उनका अनुसार आत्महत्या गर्नुभन्दा अघिल्लो रात उनीहरू सँगै थिए। राति ९–१० बजेसम्म युवतीकै कोठामा बसेका उनीहरूको बादविवाद भएको थियो। त्यसक्रममा आफुलताई कुटपिटसमेत गरेको युवतीले बताएकी छिन्।
युवतीले प्रहरीसँगको बयानमा भनेकी छन्–‘भोलिपल्ट एक्सक्युज गर्नुहोला भनेको केही गर्नुभएन, उल्टै यस्तो गर्नुभयो। यस्तो गर्नुहोला भन्ने लागेको थिएन।’

रिनेश बुवाआमाका एक्ला छोरा थिए। आर्थिक अवस्था ठिकठाक नै थियो। उनी आफु पनि ढोलाहिटीमा मोबाइल पसल सञ्चालन गर्थे। सामाजिक सञ्जालमा सक्रिय रिनेशका टिकटकमा ६६ हजार फलोअर्स थिए र प्रेमिकासँग बनाएका धेरै भिडिओहरू हाल पनि हेर्न सकिन्छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट