जिप दुर्घटना हुँदा विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु, चालक घाइते

विराटनगर– ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउँपालिका–३ सिकैचा जाँदै गरेको जिप दुर्घटना हुँदा एक महिला शिक्षकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
मे १ ज ३२९६ नम्बरको जिप सोमबार बिहान फुङलिङ नगरपालिका–११ स्थित फावाखोलामा दुर्घटना भएको हो। दुर्घटनामा घाईते भएकी सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका ३५ वर्षीया भावना विश्वकर्माको जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको फावाखोलाका वडाध्यक्ष युवराज भट्टराईले जानकारी दिए।
उनका अनुसार आजैदेखि विद्यालय खुलेको र भावना विद्यालय जाँदै थिइन्। ‘अरु यात्रुहरू बाटोमा ओर्लिसकेका थिए,’ वडाध्यक्ष भट्टराईले भने, ‘उहाँ एक्लै गाडीमा हुनुहुन्थ्यो, टर्निङमा मोड्ने क्रममा गाडी झण्डै ५० मिटर तल खसेको रहेछ।’
घाइते अवस्थामा उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा त्रिभुवन चोकमा मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार भावना फुङलिङ नगरपालिका–११ फावाखोलाकै हुन्।
उक्त जिपका चालक विष्ट पनि फावाखोलाकै हुन् र हाल उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।