सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ताः प्रहरी भन्छ– घरमा सामान्य क्षती भएको छ, मान्छे कोही छैन

राजधानी — सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएका एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्। आइतबार रातिदेखि सम्पर्कविहीन बनेको उर्मिला हायुको परिवारको खोजीका लागि अहिले प्रहरी परिचालन गरिएको छ।
उक्त घटना सोमबार बिहान सार्वजनिक भएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई खबर गरेका थिए। सूचना पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए। उनका अनुसार घरमा सामान्य क्षति देखिएको छ भने कुखुरा, बाख्रा, भैंसीजस्ता पाल्तु जनावरहरू अलपत्र अवस्थामा फेला परेका छन्। तर घरभित्र एक जना पनि परिवार सदस्य नरहेको पुष्टि भएको छ।

गोलन्जोर–६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको घर जंगलको बीचमा, एकान्तमा रहेको थियो। छिमेकीको घर पुग्न १०–१५ मिनेट लाग्ने दुरीमा रहेको उक्त घरमा उर्मिलासहित छोराबुहारी, छोरी, नातिनातिनी, ज्वाइँलगायत १६ जना सदस्य बस्दै आएका थिए। ती सबै एकैपटक हराउनु र घरको अवस्था असामान्य देखिनु रहस्यमय भएको जनाइएको छ।

वडाध्यक्ष श्रेष्ठले घरको भान्छा कक्ष रहेको सानो छाप्रोमा आगलागी भएको देखिएको बताए। घरका अन्य भागमा खास क्षति नभए पनि घरमा पालेका अधियाँ गाईबस्तु, कुखुराहरू छाडा अवस्थामा भेटिएका छन्।

गोलन्जोर गाउँपालिका अध्यक्ष बुद्धिनारायण बरालका अनुसार परिवारका सदस्यले सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए। प्रारम्भिक अनुमानअनुसार शुक्रबार वा शनिबार नै उनीहरू हराएको हुनसक्ने आशंका गरिएको छ।

उक्त परिवार लोपोन्मुख हायु समुदायअन्तर्गत पर्ने भएकाले राज्यबाट सामाजिक सुरक्षा भत्ता पनि पाइरहेका थिए। परिवारका वृद्ध सदस्यको केही वर्षअघि मृत्यु भएपछि उर्मिला हायुले घर परिवारको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

हाल प्रहरी स्थानीय जनप्रतिनिधि र गाउँलेसँग समन्वयमा घटनाबारे अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनालाई अत्यन्त संवेदनशील र रहस्यमय मानेर प्राथमिकताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट