पर्यटक भिसामा आएर कानेपोखरीमा धर्म प्रचार गरिहेका ब्राजिल, अमेरिका र क्यानडाका १० विदेशी पक्राउ
विराटनगर– स्वास्थ्य सेवा दिने उद्देश्य देखाएर सञ्चालन गरिएको शिविर धार्मिक गतिविधिसँग जोडिएको आरोपपछि मोरङको कानेपोखरीमा विदेशी नागरिकको संलग्नतामाथि प्रश्न उठेको छ। पर्यटक भिसामा नेपाल आएका ब्राजिल, अमेरिका र क्यानडाका १० नागरिक आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको तथा क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धानको दायरामा परेका छन्।
गृह मन्त्रालयका अनुसार कानेपोखरी गाउँपालिका–७, बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाको नाममा सञ्चालन गरिएको शिविरमा संलग्न विदेशी नागरिकका कागजात जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ। विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूका राहदानीसमेत विभागमा पठाइएको मन्त्रालयले जनाएको छ।
कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा विदेशी चिकित्सकसहित १० जना सहभागी थिए। तर शिविर सञ्चालनका लागि आवश्यक अनुमति लिइएको थियो कि थिएन, पर्यटक भिसामा आएका विदेशीले नेपालमा गर्न पाउने गतिविधिको सीमा उल्लङ्घन गरे कि गरेनन् र स्वास्थ्य सेवाको कार्यक्रमसँग धार्मिक गतिविधि जोडिएको थियो कि थिएन भन्ने विषय अनुसन्धानको केन्द्रमा छ।
प्राप्त विवरणअनुसार ती विदेशी नागरिक अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए। अध्यागमन विभागका अनुसार उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म थियो। तर पर्यटक भिसाको दुरुपयोग भएको विषयमा उनिहरु पक्राउ परेका हुन।
शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको बताइएको छ। स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गर्ने भनिएको जग्गामा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएको विवरणसमेत सार्वजनिक भएको छ। यही पृष्ठभूमिले स्वास्थ्य शिविर र धार्मिक गतिविधिबीचको सम्बन्धबारे थप प्रश्न उठाएको हो।
बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन बनाएको बताइएको छ। ती भवन पछिल्लो समय धार्मिक गतिविधि र अन्य कार्यक्रमका लागि प्रयोग हुँदै आएका थिए। उक्त स्थानमा देखिएको विवाद मत्थर पार्न श्रेष्ठले स्वास्थ्य शिविर आयोजना गरेको आरोप छ।
यद्यपि, शिविर आयोजना गर्नुको वास्तविक उद्देश्य र त्यसमा संलग्न प्रत्येक व्यक्तिको भूमिका अनुसन्धानबाट पुष्टि हुन बाँकी छ। यस प्रकरणमा मुख्य प्रश्न विदेशी नागरिकको राष्ट्रियता वा उनीहरूको धार्मिक आस्थाभन्दा पनि नेपाल प्रवेश गर्दा लिइएको भिसाको उद्देश्य, शिविर सञ्चालनको अनुमति र त्यहाँ भएका गतिविधि कानुनसम्मत थिए कि थिएनन् भन्ने हो।
विदेशी नागरिकले स्वास्थ्य सेवा दिन खोजेको भए त्यसका लागि आवश्यक अनुमति र सम्बन्धित निकायको स्वीकृति थियो कि थिएन भन्ने कुरा स्पष्ट हुनुपर्छ। त्यस्तै, स्वास्थ्य शिविरको नाममा धार्मिक प्रचार गरिएको आरोप लागेपछि त्यसलाई पुष्टि गर्ने ठोस प्रमाण पनि सार्वजनिक हुनुपर्छ।
गृह मन्त्रालयले विदेशी नागरिकका कागजात अध्यागमन विभागमा पठाएको जनाएको छ। अब विभागले उनीहरूको भिसाको प्रकृति, नेपालमा गरेको गतिविधि, शिविर सञ्चालनसम्बन्धी अनुमति र उपलब्ध प्रमाणका आधारमा आवश्यक निर्णय गर्नुपर्नेछ। अनुसन्धानले आरोप पुष्टि गरे कानुनअनुसार कारबाही हुन सक्छ।
कानेपोखरीको यो घटनाले स्वास्थ्य सेवा, विदेशी संस्थाको गतिविधि र धार्मिक प्रचारबीचको सीमारेखाबारे बहस सिर्जना गरेको छ। तर आरोपकै आधारमा सबै धार्मिक संस्था वा विदेशी स्वास्थ्यकर्मीलाई एउटै दृष्टिले हेर्नु उचित हुँदैन। कानुनको प्रश्न व्यक्तिको धर्म होइन, उसले गरेको गतिविधि र त्यसका लागि आवश्यक अनुमति पालना ग¥यो कि गरेन भन्ने हो।
स्वास्थ्य शिविर साँच्चै स्वास्थ्य सेवाका लागि थियो कि त्यसको आडमा अन्य गतिविधि पनि भइरहेका थिए? यसको जवाफ अध्यागमन विभागको अनुसन्धान, अनुमति सम्बन्धी अभिलेख र शिविरमा भएका गतिविधिको प्रमाणले दिनुपर्नेछ।

