विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय अंकितको मृत्यु
विराटनगर– विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय अंकित पोखरेलको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहीबार राति विराटनगर महानगरपालिका–१० स्थित भित्री सडकमा प्रदेश १–०४–००१ प ३३७७ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना भएको हो।
निर्मल जलतर्फबाट जतुवातर्फ जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पोखरेलको टाउको र नाकमा गम्भीर चोट लागेको थियो।
गम्भीर घाइते पोखरेललाई उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा राति १ बजेर १० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रारम्भिक जानकारीअनुसार तीव्र गति दुर्घटनाको मुख्य कारण रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

