राजेश अहिराजको बलात्कार प्रकरणमा ट्वीष्टः पीडित युवतीविरुद्ध नै आपराधिक लाभको जाहेरी

राजधानी— मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कारको आरोपमा पक्राउ परेपछि अब आफूविरुद्ध जाहेरी दिने युवतीविरुद्ध नै कानुनी कारबाहीमा उत्रिएका छन्। अहिराजले २३ वर्षीया पीडित युवतीमाथि ‘आपराधिक लाभ’ लिएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।

सर्वोच्च अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अहिराजले युवतीले धम्क्याउँदै २० लाख रुपैयाँ मागेको र सामाजिक रूपमा बदनाम गर्ने, आत्महत्या गर्ने धम्की दिँदै पैसा असुल गरेको आरोप लगाएका छन्। मुद्दा दर्ता अनुसार, उनले नगद ३ लाख रुपैयाँ दिइसकेको स्वीकार गरेका छन्।

बलात्कारको जाहेरी दर्ता भएको भोलिपल्ट नै अहिराजले युवतीविरुद्ध उल्टो जाहेरी दर्ता गरेका हुन्, जसले यो मुद्दामा सार्वजनिक चासो थपिएको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार अहिराजले युवतीलाई झूटा मुद्दा हाल्ने धम्की दिएको दाबी गर्दै तीन लाख रुपैयाँ बुझाएको बताएका छन्।

तर, प्रहरीले भने उनको यस्तो बयानले नै शंका उत्पन्न गराएको बताएको छ। ‘यदि कुनै गल्ती नै भएको थिएन भने कसैले यत्तिकै लाखौं खर्च गर्दैन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने।

प्रहरी प्रतिवेदन अनुसार, २०८१ साल जेठ ४ गते बिहान ९ बजे नयाँ बानेश्वरस्थित पीडितको डेरामा घट्ना भएको हो। उनको भनाइमा, अहिराज पारिवारिक चिनजानको व्यक्ति भएका कारण डेरामा आउन–जान गरेका थिए। त्यो दिन, ‘जरुरी कुरा छ’ भनेर आउनुका साथ जबर्जस्ती बलात्कार गरेको विवरण जाहेरीमा उल्लेख छ।

घटनाको पुष्टि गर्न अनुसन्धानमा प्रयोग गरिएको मेडिकल रिपोर्टमा कन्याजाली च्यातिएको उल्लेख छ, जुन यौन सम्बन्धका कारण पनि हुन सक्ने प्रहरीको भनाइ छ। साथै, घटनास्थलको मुचुल्का र युवतीको बयान मिल्दो देखिएको प्रहरीको दाबी छ।

यो मुद्दामा पीडित युवती नाबालिग नभएकाले बलात्कार पुष्टि गर्न अब जबर्जस्ती या दवावपूर्वक सम्बन्ध राखिएको प्रमाणित गर्नुपर्ने हुन्छ। यदि आपसी सहमतिमा शारीरिक सम्बन्ध रहेको देखियो भने बलात्कार नठहरिने कानुनी स्थिति छ।

सरकारी वकिल कार्यालयले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार ७ देखि १० वर्षसम्मको कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना माग गरेको छ। जरिवाना रकम पीडित राहत कोषमा दाखिला गरिनुपर्ने माग गरिएको छ।

एकतर्फ प्रहरीसँगको बयानमा अहिराजले युवतीलाई रकम दिइसकेको स्वीकार गरेका छन् भने अर्कोतर्फ बलात्कारको आरोप अस्वीकार गर्दै आफू ब्ल्याकमेलमा परेको दाबी गर्दै युवतीविरुद्ध मुद्दा दायर गरेका छन्।

यो मुद्दाले शक्ति, पहुँच, र यौनअपराधका गम्भीर विषयहरूमा सार्वजनिक बहस पुनः उब्जिएको छ। सत्ता र सञ्जालका प्रभावशाली व्यक्तिहरू कानुनी रूपमै बलात्कारजस्ता गम्भीर आरोपबाट कसरी जोगिने प्रयास गर्छन् भन्ने सवाल पनि यो घटनासँग गाँसिएको छ।

यहीबीच अदालत र अनुसन्धान संस्थाहरूको निष्पक्षता र तत्परतामाथि समेत प्रश्न उठेका छन्। मुद्दा अब अदालतमा पुगेको छ, जहाँ कानुनी प्रमाण, बयान, र तथ्यहरूले अन्तिम निर्णयलाई आकार दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट