सरकारको पुनर्बास योजनाका कारण मधेशी अधिकारमाथि खतरा बढ्दैछ: उपेन्द्र यादव

राजविराज — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी समुदायलाई लक्षित गरी उनीहरूलाई आफ्नै भूमिमा अल्पसंख्यक बनाउने गम्भीर षड्यन्त्र चलिरहेको आरोप लगाएका छन्।

बुधबार राजविराजको तेतरीगाछीस्थित बन्द रहेको साईकृष्णा मेडिकल कलेज प्रांगणमा सुरु भएको जसपा सप्तरी जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यादवले पुनर्बास योजनाको नाममा जंगल फँडानी गरी बाहिरी शक्तिहरूलाई मधेशमा स्थायी बसोबास गराइने योजनालाई गम्भीर चुनौतीका रूपमा चित्रित गरे।

‘मधेशीहरूलाई नैसर्गिक अधिकारबाट वञ्चित गर्न पुनर्बास कम्पनीमार्फत भूमि हडप्ने कार्य भइरहेको छ,’ उनले भने, ‘यसरी नैसर्गिक बहुलता भएका मधेशीहरूलाई नै अल्पसंख्यक बनाउने रणनीति अघि बढाइएको छ।’

उनले सरकारमाथि पनि कटाक्ष गरे। अध्यक्ष यादवका अनुसार हालको केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारका प्रमुख मुद्दाहरूमा चासो नदेखाएको आरोप लागाउँदै सरकार बिचौलियाको निर्देशनमा चलिरहेको दाबी गरे।

‘हामीले दुई तिहाइको सरकारलाई ती एजेन्डाहरू कार्यान्वयन हुने आशामा समर्थन गरेका थियौं,’ उनले भने, ‘तर सरकार गम्भीर भएन, त्यसैले समर्थन फिर्ता लिएका हौं।’

तीन दिने जिल्ला अधिवेशन अन्तर्गत बिहीबारदेखि बन्दसत्र सुरु हुँदैछ। जिल्ला अधिबेसनले नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्षका लागि वर्तमान अध्यक्ष केदार यादव, उपाध्यक्ष उमेशकुमार यादव र सचिव हरेराम यादवबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट