काम गर्ने ठाउँमै किशोरीको हत्याः सेकुवा सेन्टरमा सहकर्मी युवकको चक्कु प्रहारबाट मृत्यु

राजधानी — कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एण्ड मःम सेन्टरमा कार्यरत एक किशोरीमाथि सोही स्थानमा काम गर्ने युवकले चक्कु प्रहार गरी हत्या गरेका छन्।

हत्या गरिएकी किशोरी बर्दगोरिया–३ की १७ वर्षीया याचना सेजुवाल हुन्। उनलाई शनिबार बिहान सेन्टरको भान्सामा काम गर्ने क्रममा ३३ वर्षीय नृप साउँदले चक्कु प्रहार गरेका थिए।

गम्भीर घाइते अवस्थामा सेजुवाललाई तत्कालै उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पु¥याइएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको कैलाली प्रहरीका डीएसपी राजकुमार सिंहले जानकारी दिए।

साउँद र सेजुवाल दुबैजना सोही सेन्टरमा कार्यरत थिए। प्रारम्भिक अनुसन्धानमा भान्साभित्र विवादपछि हत्या भएको आशंका गरिएको छ। घटनाको कारण भने अझै खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हत्या आरोपित नृप साउँदलाई प्रहरी नियन्त्रणमा लिएको छ। याचनाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट