श्रीमती दीर्घरोगी भएपछि तनावमा आएर घाँटी थिची हत्या, आफैँ पनि आत्महत्या गर्न खोजेका श्रीमान डोरी चुँडिएर बाँचे

हेटौंडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा एक पुरुषले आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४५ वर्षीय मानबहादुर शिवभक्त छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, उनले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तिको घरमै घाँटी थिची हत्या गरेका हुन्। घटना घरमा कोही नभएको समयमा भएको प्रहरीले जनाएको छ।
डीएसपी श्यामु अर्यालका अनुसार, श्रीमती पक्षघातको रोगी थिइन् र हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्। मानबहादुरले प्रहरीसमक्ष दिएको बयानमा उनले तनावमा आएर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्। साथै, उनले हत्यापछि झुण्डिएर आत्महत्या गर्न खोजेको तर डोरी चुडिएर बाँचेएको त्यसपछि प्रहरी सम्पर्कमा आएको बताएका छन्।
दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा पठाइएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।