झापामा छिमेकीले रुखमा बाँधेर दिएको ‘सजाय’ले वृद्धको ज्यान गयो, छोरासहित ४ जना पक्राउ

दमक— झापाको झापा गाउँपालिका–१, लसुनामा छिमेकीले रुखमा बाँधेर सजाय दिएका एक वृद्धको मृत्यु भएको छ। अत्यधिक मदिरा सेवन गरी होहल्ला गर्न थालेपछि छिमेकीले स्थानीय ६० वर्षीय जतन सोरेन मंगलबार राति रुखमा बाँधेका थिए।

बुधबार बिहान करिब ४ बजे उनी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सोरेन मंगलबार राति साढे १० बजे अत्यधिक मदिरा सेवन गरी छिमेकी महादेव टुडुको घर छेउ आइपुगेका थिए।

घर छेउको गल्लीमा काम्न थालेपछि महादेव टुडु, लुखिराम टुडु, लखिराम टुडु लगायत केही स्थानीयले उनलाई घर नजिकैको आपको रुखमा प्लास्टिकको डोरीले बाँधेर छाडेका थिए।

बुधबार बिहान स्थानीयले वृद्धलाई बाँधिएको अवस्थामै मृत देखेपछि प्रहरीलाई खबर गरिएका थिए। सूचना पाउनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान अघि बढाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा शारीरिक दुव्र्यवहार वा अन्य कारणले उनको मृत्यु भएको हो ? भन्ने खुलेको छैन।

प्रहरीले घटनामा संलग्न रहेका मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, छिमेकी ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु र २१ वर्षीय लखिराम टुडुलाई नियन्त्रणमा लिएको छ। अन्य संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध ज्यान सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट