रास्वपाको विराटनगरमा आयोजित हस्ताक्षर अभियानबाट सुनसरीका बाल यौन अपराधी पक्राउ

विराटनगर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा आयोजित हस्ताक्षर अभियानमा सहभागी हुन विराटनगर पुगेका सुनसरीका एक बाल यौन दुराचारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइराला हुन्। उनी मंगलबार विराटनगरको महेन्द्र चोकमा रास्वपाले आयोजना गरेको हस्ताक्षर संकलन कार्यक्रममा सहभागी हुन पुगेका थिए। कार्यक्रम स्थलमै मोरङ प्रहरीले उनलाई पक्राउ गरी सुनसरी प्रहरीको जिम्मा लगाएको हो।

कोइरालाविरुद्ध जिल्ला अदालत सुनसरीले बाल यौन दुरुपयोगसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै असार ३२ गते २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। तर फैसला अघि उनी धरौटीमा छुटेका थिए र त्यसयता फरार थिए।

अमेरिका बस्दै आएका कोइरालालाई नेपाल आएपछि गत वैशाखमा बाल यौन दुव्र्यवहारको आरोपमा पक्राउ गरिएको थियो। फैसला सार्वजनिक भएपछि उनी कानूनबाट लुकिरहेका थिए। मंगलबार रास्वपाको कार्यक्रममा सहभागी हुने क्रममा पक्राउ परेपछि उनलाई सुनसरी पठाइएको प्रहरीले जनाएको छ।

यस घटनापछि रास्वपाको हस्ताक्षर अभियानको व्यवस्थापन तथा सहभागिता चयनप्रति समेत प्रश्न उठ्न थालेको छ। दोषी ठहर भइसकेका यौन अपराधी सार्वजनिक कार्यक्रममा स्वतन्त्र रूपमा घुलमिल हुन सक्ने अवस्था जनताको सुरक्षाप्रति गम्भीर चुनौतीको विषय भएको विज्ञहरूको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट