सप्तरीमा ४ दिनमा ४ पटक गोली चल्योः एक जनाको मृत्यु, एक जना घाइते, सामान्य अवस्थामै किन गोली हान्छ प्रहरी ?

राजविराज — सप्तरी जिल्लामा प्रहरीद्वारा प्रयोग गरिएको बल र त्यसमा बारम्बार चलाइएको गोली अहिले गम्भीर बहसको विषय बनेको छ। पछिल्ला चार दिनमा मात्रै जिल्लाभित्र चार फरक घटनामा गोली चलाइएको छ। जसमा प्रहरीका ११ गोली र ४ सेल अश्रुग्याँस खर्च भएका छन्।
तीमध्ये एक घटनामा एक स्थानीयको ज्यान गएको छ भने अर्को एउटा घटनामा एक जना गोली लागी घाइते छन्। सामान्य अवस्था र नियन्त्रण योग्य परिस्थितिमा पनि प्रहरीले गोली चलाएको भन्ने आरोपपछि सुरक्षाकर्मीको भूमिकामाथि प्रश्न उठ्न थालेको छ।
मंगलबार राति सप्तरीको राजगढ गाउँपालिका–२ स्थित कमलपुरमा प्रहरीले चलाएको गोलीबाट ३६ वर्षीय स्थानीय लालु यादवको मृत्यु भयो। प्रहरीले दिएको जानकारीअनुसार उक्त राति अवैध मदिरा तस्करी नियन्त्रण गर्न गएका सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जवाफी रूपमा ५ राउन्ड गोली चलाइएको थियो।
सो क्रममा तिघ्रामा गोली लागेका यादवको अत्यधिक रक्तश्रावका कारण उपचारका क्रममा ज्यान गएको प्रहरी स्रोतको भनाइ छ। तर मृतक पक्ष र स्थानीयवासीले घटनाबारे फरक धारणा राखेका छन्। उनीहरूको भनाइमा यादव विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए र कुनै आपराधिक गतिविधिमा संलग्न थिएनन्।
उनीमाथि प्रहरी र तस्करको मिलेमतोमा योजनाबद्ध ढंगले गोली चलाइएको आरोप लगाइएको छ। घटनापछि स्थानीयवासी आक्रोशित बनेका थिए। बुधबार बिहानैदेखि उनीहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे।
टायर बालेर सडक अवरुद्ध पारिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले फेरि अश्रुग्यास प्रहार ग¥यो। यो घट्नामा प्रहरीले ४ सेल अश्रु ग्याँस प्रहार गरेको सप्तरी प्रहरीका डीएसपी जितेन्द्रकुमार वस्नेतले जानकारी दिए। यस क्रममा आन्दोलनकारीको ढुङ्गामुढा लागेर ९ जना प्रहरी कर्मचारी घाईते भएका छन्।
यसअघि आइतबार राति डाक्नेश्वरी नगरपालिका–८ औरहीका २८ वर्षीय दीपक मरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको थियो। डेढ महिनाअघि सुरुङ्गा नगरपालिका–८ मल्हनमामा भएको लुटपाटपछि हत्या घटनामा संलग्न मरिकलाई पक्राउ गर्न खोज्दा उनी भाग्न थालेपछि ४ राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मरिक लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न थिए र नेपाल तथा मलेसियामा पनि उनीमाथि मुद्दा छन्।
त्यसै दिन बिहान छिन्नमस्ता गाउँपालिका–१ बरहीबिरपुरमा लागुऔषध कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ गर्न प्रहरीले २ राउन्ड हवाई फायर गरेको थियो। पक्राउ परेका बिशाल राय र मनोज रायको साथबाट १७७ ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीको भनाइ छ।
चार दिनको अवधिमा भएका यी चार घटनामा प्रहरीले बारम्बार गोली चलाउएर गोली हान्नुलाई सामान्य अभ्यास जस्तै प्रस्तुत गरेको छ। यो विषय अहिले सप्तरी लगायत मधेसमा गम्भीर रूपमा उठिरहेको छ। पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता उमेशकुमार यादवले भनेका छन— ‘काठमाडौंमा पानीको फोहोरा प्रयोग गरेर भीड हटाउने प्रहरी मधेसमा किन गोली चलाउँछ?’ उनले प्रहरी र तस्करबीच सेटिङ्ग हुने गरेको र त्यही सेटिङ्गमा भागबण्डा नमिल्दा यस्ता घटना हुने गरेको यादवको आरोप लगाएका छन्।
‘लालु यादवसँग कुनै हतियार भेटिएको थिएन, उनलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन सकिन्थ्यो। तर सिधै गोली ठोकिएको छ,’ उनले भनेका छन्, ‘यस्ता घटना प्रहरी–तस्कर गठबन्धन, राजनीतिक पहुँच र राज्यसंरचनाको असंवेदनशीलताको परिणाम हुन्।’
स्थानीयले पनि यस्तो व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, प्रहरीसँग वैकल्पिक उपाय हुँदाहुँदै गोली चलाउनु शक्ति प्रदर्शन मात्र हो। मानवअधिकारकर्मीहरूले समेत सामान्य अवस्थामा गोली चलाउनु शक्ति प्रयोगको अत्यधिक रूप भएको भन्दै आलोचना गरेका छन्।
राज्यको कानुन अनुसार गोली चलाउनु अन्तिम विकल्प हुनुपर्छ। तर सप्तरीमा देखिएको पछिल्लो अभ्यासले प्रहरी नियन्त्रणको नाममा बल प्रयोगलाई सामान्य बनाइएको कतिपय राजनीतिक दलका नेताहरुको भनाई छ।
डीएसपी वस्नेतले भने सामान्य अवस्थामा प्रहरीले गोली नचलाएको दावी गरेका छन्। लालु यादवको मृत्यु प्रकरणमा पनि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको उनको भनाई छ। ‘गोप्य सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो। जनशक्ति थोरै थियो। ३÷४ वटा छाप्रामा भारत तस्करीका लागि ठिक्क पारिएको मदिरा फेला परेपछि त्यसलाई रुँघेर वस्नु पर्दा भएको ७÷८ जना जनशक्ति पनि ३÷४ ठाउँमा बाँडियो। प्रहरी पुगेको जानकारीपछि ७०÷८० जनाले प्रहरीलाई घेरा हाले। ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले हारगुहार गर्यो। हामी मदिरा पनि लाँदैनौ, मान्छे पनि लाँदैनौँ, मान्छे मात्रै जान दिनोस भन्दा पनि प्रहरीले उम्किन पाएन। प्रहरीमाथि लगातार आक्रमण भएपछि ज्यान जोगाउनका लागि मात्रै गोली चलाउनु परेको हो।’ उनले भने–‘हामीसँग पानीको फोहोराको सुविधा छैन र त्यो अवस्था पनि बाँकी थिएन। प्रहरी नै जिवन र मरणको दोसाँधमा पुगेपछि अन्तिम विकल्पका रुपमा गोली चलेको हो।’
यो प्रकरणपछि स्थानीयले निष्पक्ष छानबिनको माग गरेका छन्। मृतक लालु यादवप्रति न्यायको माग गर्दै प्रदर्शन जारी छ। उता प्रहरी प्रशासनले हरेक घटनामा प्राविधिक र कानुनी आवश्यकता अनुसार मात्रै बल प्रयोग गरिएको दाबी गरे पनि लगातार चार घटनामा गोली चलाउनु आफैंमा गम्भीर प्रश्नको विषय बनेको छ।
दुई थरी तस्करको चपेटामा सर्वसाधारण
यी पछिल्ला घट्ना क्रमले मधेसका सीमावर्ती क्षेत्रहरूमा तस्करी, प्रहरी सेटिङ्ग र गोलीकाण्डका कारण स्थानीय जनता त्रासमा बाँचिरहेको विषय उजागर भएको छ। सादा पोशाकका प्रहरी (घुमुवा) र स्थानीय युनिटले तस्करसँग मिलेमतो गरी तस्करी गराउने, फरक समुह र भागबन्डा नमिल्दा गोली चल्ने अवस्था सामान्यजस्तै बनेको सर्वसाधारणहरु बताउँछन।
प्रहरी र प्रशासनको सरुवा प्रक्रिया नै भ्रष्ट भइसकेको जनगुनासो छ। कुन पोस्टको कति दरमा सरुवा हुन्छ भन्ने ‘रेटलिष्ट’ पहिले नै तय हुने गरेको माओवादी नेता एवम पूर्वमन्त्री यादव बताउँछन। उनले मलेठमा भएको गाँजा काण्डको विषय उठाउँदै दुई ठाउँमा प्रहरीको फरक ब्यवहारप्रति प्रश्न उठाएका छन्।
मलेठ गाँजा काण्डमा प्रहरी चुप लाग्ने र कमलपुर घटनामा गोली चलाउने द्वैध व्यवहारको उनले आलोचना गरेका छन्। राजविराज–९, मलेठस्थित गाँजा गोदाम काण्डमा पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता कुमारी साहको कम्पनीद्वारा आपूर्ति गरिएको सेनिटरी प्याड भेटिए पनि प्रहरीले बरामदी मुचुल्काबाट उक्त वस्तु हटाएको थियो।
गाँजासँगै सेनिटरी प्याड भेटिएपछि ललिता साहको संलग्नता प्रमाणित हुँदै गइरहेको बेला, प्रहरीले उक्त प्याड जिल्ला प्रहरी कार्यालयमा थुपारे पनि बरामद विवरणमा उल्लेख नगरी प्रमाण नष्ट गर्ने प्रयास गरेको थियो।
प्रहरीले बहाना बनाएर प्याड ‘लागुऔषध नभएको’ र ‘भन्सार चलानी नगर्ने नेपाली उत्पादन’ भन्दै मुचुल्काबाट हटाएको बताएको छ। तर, अनुसन्धानमा संलग्न इन्स्पेक्टर उदयकुमार राईले ‘अख्तियारमा मुद्दा चलिरहेको हुँदा’ प्याड नसमेटिएको स्वीकारेपछि प्रकरण थप विवादास्पद बनेको छ।
सेनिटरी प्याड यसअघि रूपनी गाउँपालिकाको अनियमितता सम्बन्धी अख्तियारद्वारा दायर मुद्दासँग जोडिएको हो, जसमा ललिता प्रमुख प्रतिवादी थिइन्। विशेष अदालतबाट सफाइ पाएकी ललिताविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन गरिसकेको छ।
अब सोही प्याड गाँजा गोदाममा भेटिनु र मुद्दाबाट हटाइनु केवल संयोग होइन, प्रहरी प्रशासनमाथि दबाब, प्रमाण नष्ट गर्ने नियत र ललितालाई जोगाउने रणनीतिका स्पष्ट संकेत हुन्। कानुनी विज्ञहरूका अनुसार यो प्रहरी लापरवाही नभई, आपराधिक स्तरको प्रमाण लुकाउने प्रयास हो।
paila tw taskar garnako lagi gharmai bhandaran garnu bhayena, bhandaran gare pani police mathinai jaai lagnu bhayna, police khantalasiko kramma tei sthaniye nai jaai lage paxi tw goli chalne nai bhayo