प्रहरीको गोली लागि मारिएका लालुका छोराछोरी देखाउँदै बुबाको विलौना– यी लालाबालाको जिम्मेवारी बुढो काँधले कसरी थाम्ला?

राजविराज — सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ‘मदिरा तस्करी’ को आरोपमा साउन २० गते राति प्रहरीको गोली लागी मृत्यु भएका ३५ वर्षीय लालु यादवका पिता रबिकान्त यादवको बिलौना सुन्दा उपस्थित सबै शोकमग्न बने।

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री उमेशकुमार यादवसहितका व्यक्तिहरू समवेदना प्रकट गर्न पुगेका वेला उनले लालुका साना छोराछोरी देखाउँदै भने,– ‘यी लालाबाला (बालबच्चा) को जिम्मेवारी मेरो बुढेसकालको काँधले कसरी थाम्ला? २२ वर्षअघि प्रहरीले मेरो ज्वाइँ बिरेन्द्र यादवलाई माओवादीको मिथ्या आरोपमा गोली हानेर मार्यो, आज मेरो कलिलो छोरा पनि प्रहरीकै हातमा मारियो।’

स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका लालु यादव भारततर्फ अवैध मदिरा तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीको गोली लागी मारिएका हुन्। प्रहरीका अनुसार उनीहरूलाई स्थानीयबाट आक्रमण भएपछि आत्मरक्षार्थ ५ राउन्ड गोली चलाइएको थियो। तर, मृतक परिवार र स्थानीयवासीले यादव कुनै आपराधिक गतिविधिमा संलग्न नभएको, बरु योजनाबद्ध रूपमा उनलाई लक्षित गरी गोली हानिएको आरोप लगाएका छन्।

घटनापछि स्थानीयले सडक अवरुद्ध गर्दै प्रदर्शन गरे, जसमा प्रहरीले ४ सेल अश्रुग्यास प्रयोग ग¥यो। मृतकको शव पोष्टमार्टम गर्न अस्वीकार गरिएको थियो, तर बिहीबार प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मात्र अन्त्यष्ठी गरियो। सहमतिअनुसार, घटनाको छानबिन समिति गठन गरिने र संलग्न प्रहरी इन्स्पेक्टर वीरन्द्रकुमार यादवलाई तत्काल जिम्मेवारीबाट हटाइने निर्णय गरिएको छ।

यो घटना जिल्लामा देखिएको प्रहरीको ‘द्वैध व्यवहार’ को ताजा उदाहरण बनेको छ। केही महिना अघि राजविराज–९ मलेठबाट २४५१.५ किलो गाँजा बरामद भएको थियो। यो प्रकरणमा प्रहरीको मौनता र ढिलासुस्ती चर्चामा छ। सो घटनामा पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिताका श्रीमान् राजनारायण साह, आमा पवित्रिदेवी साहुसहित चल्तापुर्ता आरोपितहरूलाई फरार बनाईयो। प्रमाण नष्ट गरेर स्वयम ललितालाई उन्मुक्ति दिईयो। चौकीदार र ट्रक चालक मात्र पक्राउ परे। बरामद सेनिटरी प्याडको विवरण न त मुचुल्कामा, न त अभियोगपत्रमा समावेश गरिएको छ — कानुनी विज्ञहरूले यसलाई प्रमाण नष्ट गर्ने आपराधिक प्रयास भनेका छन्।

त्यसको ठीक विपरीत, कमलपुरमा भने ‘तत्कालिक खतरा’ भन्दै निहत्था नागरिकमाथि गोली प्रहार भयो। पूर्वमन्त्री उमेशकुमार यादवले यस विषयमा प्रश्न उठाएका छन्। ‘काठमाडौंमा पानीको फोहोरा प्रयोग गर्ने प्रहरी मधेसमा किन गोली चलाउँछ ?’ उनले मलेठमा मौन बस्ने र कमलपुरमा गोली हान्ने ‘द्वैध व्यवहार’को आलोचना गरेका छन्।

जानकारहरूका अनुसार जिल्लामा तस्करका दुई समूह सक्रिय छन् — प्रहरीसँग मिलेमतो भएका र मिलेमतो नभएका। प्रहरीले संरक्षण गर्ने समूह सुरक्षित रहन्छ, तर ‘सेटिङ’ नमिलेका समूहमाथि बल प्रयोग हुन्छ। मलेठमा संरक्षण, कमलपुरमा गोली — यी दुई घटना यसकै उदाहरण भएको उनीहरूको दाबी छ।

यस्ता घटनाले प्रहरीको निस्पक्षता मात्र होइन, राज्य संयन्त्रको नैतिकता र विश्वसनीयता नै प्रश्नचिन्हमा पारेको छ। सीमावर्ती क्षेत्रमा प्रहरी–तस्करको भागबन्डा, प्रमाण लुकाउने प्रवृत्ति र निर्दोष नागरिकमाथिको बल प्रयोगले मधेसमा आक्रोश बढिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट