सर्लाहीका शिक्षक रामपुकार यादवको गोली हानी हत्या, आक्रमणकारी फरार

जनकपुर– सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या गरिएको छ। हरिपुर्वा नगरपालिका–६ निवासी ४५ वर्षीय रामपुकार राय यादवलाई शुक्रबार साँझ आफ्नै घर अगाडि अपरिचित व्यक्तिहरूले गोली प्रहार गरेका थिए।
प्रहरीका अनुसार साँझ करिब साढे ८ बजे घरको आँगनमा छरछिमेकीसँग गफ गरिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले ‘रामपुकार को हो?’ भनेर सोध्दै टाउकोमा गोली हानेर फरार भएका थिए। गोली लागेर गम्भीर घाइते भएका यादवलाई प्राथमिक उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
गोली प्रहार गरी भाग्ने क्रममा आक्रमणकारीमध्ये एक जना बसन्तपुरतर्फ मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका थिए। उनलाई प्रहरीले नियन्त्रणमा लिएर लालबन्दी मोडेल अस्पताल हुँदै थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।
अर्का आक्रमणकारी भने फरार रहेका छन्। घटनामा संलग्न सबै व्यक्तिको पहिचान भइसकेको र खोजी तथा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
मृतक यादव विगतमा मलङ्गवास्थित एक निजी विद्यालयमा शिक्षकको रुपमा कार्यरत थिए। पछिल्लो समय उनले खेतीपातीसँगै गाउँमा ऋण लगानी गर्ने कार्य गर्दै आएका थिए।
भारतसँग सीमा जोडिएको क्षेत्रमा गोली प्रहार जस्तो घटना भएपछि स्थानीय त्रसित बनेका छन्।