आर्यघाटमा शवको हड्डी चोरी प्रकरणः बाबाले ग्रहदशा शान्त हुन्छ भनेपछि खरानी किनेर पशुपतिमा चढायौं

राजधानी– पशुपति आर्यघाटमा जलिरहेको शवका अंग खरिद गरेको आरोपमा पक्राउ परेका दुईजनाले भगवान शिवको पूजाका लागि एक मुठी खरानी मात्रै लगेको दाबी गरेका छन्।
गत शुक्रबार बनेपा–९ का राम शाहीको शव दाहसंस्कार भइरहेका बेला जलिरहेको अंग चोरी गरेको अभियोगमा प्रहरीले काभ्रे मण्डन देउपुरका ६१ वर्षीय घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगी, उदयपुरका कटारीका २४ वर्षीय विनायक मैनालीलाई नियन्त्रणमा लिएको थियो। उनीहरू हाल प्रहरी वृत्त गौशालाको हिरासतमा छन्।
यही घटना अनुशन्धानका क्रममा बुधबार प्रहरीले सर्लाहीको लालबन्दी घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादवलाई समेत पक्राउ गरेको थियो। उनीहरू कपनको फैकामा सैलुन सञ्चालन गर्ने पेशेवर हजाम हुन्।
प्रहरीलाई दिएको बयानमा उनीहरूले पशुपतिनाथ मन्दिर दर्शन गर्ने क्रममा एक बाबाजीले ग्रहदशा शान्त पार्न जलिरहेको शवको खरानी शिवलिङ्गमा चढाउन सुझाव दिएका कारण घाटे ब्राह्मणसँग खरानी मागेको बताएका छन्। सो क्रममा ५ सय रुपैयाँ दिएर एक मुठी खरानी लिएर पशुपतिनाथ परिसरमै रहेको शिवलिङ्गमा चढाएको दाबी उनीहरूको छ।
गौशाला प्रहरीले पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दामा म्याद थपिएको जनाएको छ। शवको मासु वा हड्डीजस्ता अङ्ग लिएर गएको प्रमाण नभएकाले थप गम्भीर अभियोग नलाग्ने प्रहरी अनुसन्धानकर्ताले बताएका छन्। चारै जना पक्राउ परेकालाई चाँडै जिल्ला प्रशासन कार्यालयमा पेश गरिने तयारी भइरहेको प्रहरीले जनाएको छ।