श्रीमतीको हत्या गरी बक्स पलङमा शव लुकाएर प्रहरीसँगै खोजतलासमा जुटेका श्रीमान पक्राउ

राजधानी– काठमाडौँको गोङ्गबुस्थित होटलमा श्रीमतीको हत्या गरी बक्स पलङभित्र शव लुकाएर प्रहरीमा खोजतलासको निवेदन दिने र प्रहरीको खोजतलास टोलीमै संलग्न भएका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, भङ्गालका २८ वर्षीय सन्तोष सेन्चुरी हुन्। उनीमाथि श्रीमती २७ वर्षीया ललिता बिकको हत्या गरेको आरोप छ। यो घटनाले प्रहरी र सर्वसाधारणलाई स्तब्ध बनाएको छ। प्रहरीको प्रारम्भिक अनुशन्धानमा २७ साउनमा सन्तोषले श्रीमतीको हत्या गरेको खुलेको छ।
अनुशन्धान अनुसार २ वर्षअघि विवाह गरेका सन्तोष र ललिताको सम्वन्ध खासै राम्रो थिएन। सन्तोषको अर्कै महिलासँग सम्वन्ध रहेको पाईएको छ। त्यसैले सम्वन्ध विच्छेद गर्ने सहमति अनुसार उनिहरु छुट्टै वस्दै आएका थिए। यसैबीच अन्तिम छलफल गर्न भन्दै सन्तोषले ललितालाई महानगरपालिका–२६, गोङ्गबुस्थित कञ्चन कोशी होटल एण्ड लजमा बोलाएका थिए।
सोही होटलको कोठा नम्बर २०१ मा बसेका उनीहरुबीच छलफल भन्दा पनि विवाद चरम उत्कर्षमा पुगेपछि सन्तोषले घाँटी थिची ललिताको हत्या गरेको र शव बक्सभित्र हालेर पलङ मुनी लुकाएको खुलेको छ। ललिताको हत्यापछि उनी साथीको कोठामा गएर बसेका थिए।
भोलिपल्ट होटलबाट निस्किएपछि ललिता हराएको भन्दै उनी ससुरालीको सम्पर्कमा पुगे। ललिताका भाई मोतिराम विश्वकर्माले प्रहरीमा खोजतालसका लागि निवेदन दिए। प्रहरी र ललिताको माईतीपक्ष उनको खोजीमा जुट्यो। सन्तोष पनि त्यो टोलीसँगै श्रीमतीको खोजिमा निस्किएका थिए।
उनले ललिता काम गर्ने गार्मेन्टसम्म गएर परिवारलाई सान्त्वना दिएको अभिनय गरे। तर तीन दिनपछि (साउन ३० गते) होटल सञ्चालक भिममाया लिङ्खाले कोठाबाट दुर्गन्ध आएको भन्दै प्रहरीलाई खबर गरिन। राति ११ बजे प्रहरी पुगेर हेर्दा मुखमा कपडा कोचिएको ललितको शव बक्स पलङ्ग भित्र फेला पर्यो।
प्रहरी बृत्त महाराजगन्जको सम्पर्कमा रहेका सन्तोष शव भेटिएपछि मोबाइल स्विचअफ गरी सम्पर्क बिहिन भएका भए। जसले प्रहरीलाई शंका लाग्न थाल्यो। हत्याको घट्ना खुलेपछि फरार भएका सन्तोषलाई प्रहरीले उनको मोवाईलमार्फत निगरानी गर्यो। उनको लोकेसन पर्साको विरगञ्जमा देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले स्थानीय प्रहरीसँगको समन्वयमा पर्सा पुगेर भदौ १ गते पक्राउ गरेको हो।
सन्तोष भारत पस्ने तयारीमा रहेको अवस्थामा पक्राउ परेका हुन। प्रारम्भिक बयानमा उनले विवाहअघि नै अर्की महिलासँग सम्बन्ध रहेको र यही कारण तनाव चुलिँदा हत्या गरेको स्वीकार गरेका छन।
प्रहरीले घट्नाको थप अनुशन्धान भईरहेको जानकारी दिएको छ।