सप्तरीमा वृद्ध दम्पतीको हत्या प्रकरणः ७ वर्षमा ८ एसपी फेरिए, डेग चलेन अनुशन्धान !

राजविराज — सप्तरीको खडक नगरपालिका–५, खरचुहिया बजारस्थित एक वृद्ध दम्पतीको हत्या भएको ७ वर्ष बितिसक्दा पनि घटनाको कारण र दोषी पत्ता लाग्न सकेको छैन। २०७५ फागुन १४ गते बिहान भएको उक्त घटनाले बजारवासी मात्र होइन, सम्पूर्ण जिल्लालाई स्तब्ध बनाएको थियो। तर लामो अनुसन्धानपछि पनि अपराधी पहिचान हुन सकेको छैन।

हरेक दिन बिहान हिँडडुल गर्ने ७५ वर्षीय सबुरी साह र उनकी ६५ वर्षीया पत्नी बेचनीदेवी साहको घरको ढोका फागुन १४ गते बिहान ८ बजेसम्म पनि खुलेन। स्थानीयले शंका गर्न थाले। धेरैपटक ढोका ढक्ढक्याउँदा पनि कसैले जवाफ नदिएपछि पर्खाल नाघेर एक व्यक्तिलाई भित्र पठाइयो।

भित्र देखिएको दृश्य भयावह थियो— आँगनभरि रगतका छिटा थिए, घर जलेर खरानी बनेको थियो। घरभित्र सबुरी साह र उनकी पत्नी बेचनीदेवीको शरीर पूरै जलिसकेको अवस्थामा भेटियो। इलाका प्रहरी कार्यालय कल्याणपुर, कडरबोना र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगे।

तत्कालीन एसपी राजेन्द्र विष्ट नेतृत्वको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानमा वृद्ध दम्पतीलाई जलाएर हत्या गरिएको पुष्टि गरेको थियो। डकैती गर्ने नियतले आएको समुहले हत्या गरेको हुन सक्ने आशंका गरिएको थियो।

अनुसन्धानलाई बलियो बनाउन प्रदेश प्रहरी कार्यालय जनकपुरको विशेष अनुसन्धान टोली, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको फोरेन्सिक टिम र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो।

तर, दम्पतीको शरीर पूर्ण रूपमा जलेको हुँदा डीएनए परीक्षणसम्म गर्नुपरेको थियो। ३० जनाको संयुक्त प्रहरी टोली केही सातासम्म घटनास्थलमै बसेर अनुसन्धान गरिए पनि ठोस प्रमाण फेला परेन।

घटना सार्वजनिक भएको केही महिनामै प्रहरी नेतृत्व फेरियो। २०७६ जेठमा एसपी राजेन्द्र विष्ट सरुवा भए। त्यसपछि आएका मनोज यादव तीन महिनामै सरुवा भए। कृष्ण प्रसाईं ०७७ भदौसम्म रहे तर अनुसन्धानले खासै प्रगति गरेन।

त्यसपछि सप्तरीमा पाँच जना एसपी फेरिए, तर सात वर्षसम्म पनि अनुशन्धानको निष्कर्ष आएको छैन, नत अपराधि नै पहिचानमा आए। जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले त घटनाको प्रगतिबारे ठ्याक्कै जानकारी दिनसमेत सकेनन्। इलाका प्रहरी कार्यालय कडरबोनाबाट थप जानकारी लिएर प्रतिक्रिया दिने उनको भनाई छ।

‘अनुसन्धानको प्रगति खासै नहोला, तर फाइल हेरेर अपडेट गर्न मैले इलाकामा भनिसकेको छु,’ बस्नेतले भने। घट्नाको अनुशन्धान गर्ने प्रहरी नै यसरी निच मारेर बसेका कारण वृद्ध दम्पतीको क्रुर हत्यामा संलग्नहरु अहिले पनि निर्धक्क घुमिरहेका छन्। परिवारले न्याय पाउन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट