रौतहटमा सुटकेसभित्र मृत फेला परेकी रुबीको भारतमै हत्या भएको आशंका, फेला परेन मोवाईल

जनकपुर– रौतहटमा सुटकेसभित्र मृत फेला परेकी २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरण अझै रहस्यमय बन्दै गएको छ। शनिबार साँझ डेराबाट बजार गएको भन्दै घरबाट निस्केकी उनी राति नफर्केपछि परिवार चिन्तित बनेको थियो।

अन्तिम पटक उनले बेलुकी करिब ६ बजेतिर आमा मिथिलालाई फोन गरेकी थिइन्। तर, त्यसपछि सम्पर्कविहीन भइन्। राति करिव १० बजे स्थानीयले गौर–सिरसिया सडक खण्डको मुडवालगेट (गौर नगरपालिका ९) नजिकै बाटोमा डोरीले बाँधिएको ठूलो निलो सुटकेस देखे। शंकास्पद ठानेर प्रहरीलाई खबर गरे पनि रातभर सुटकेस नखोली सुरक्षा मात्र गरिएको थियो।

आइतबार बिहान मात्र सुटकेस खोल्दा भित्र खुम्च्याएर राखिएको अवस्थामा रुबीको शव भेटियो। प्रहरीका अनुसार शव लुगा जसरी कुहिनो र घुँडा एकै ठाउँमा हुने गरी खुम्च्याएर राखिएको थियो, बाहिरी चोटपटक भने थिएन। नाकबाट थोरै रगत बगेको देखिएको छ।

रुबीकुमारी साहको स्थायी घर भारतको विहार राज्य अन्तरगत मुजफ्फरपुर जिल्लाको रुक्साटोल हो। माधव नारायण नगरपालिका–२ माधवपुर माईती भएकी उनको ५ वर्षअघि विवाह भएको थियो। श्रीमान् शिवसागर साह त्यहीँ बस्छन्। तर, छोराको पढाइका लागि रुबी पछिल्ला केही महिनादेखि गौर नगरपालिकाको माधवपट्टीमा आमा र चार वर्षीय छोरासहित डेरा गरेर बस्दै आएकी थिइन्।

शव भेटिएको स्थान उनको डेराबाट करिब ५ किलोमिटर टाढा र भारतीय सीमाबाट पनि करिब ५ किलोमिटर दूरीमा पर्छ। रुबीको डेराबाट गौर बजार करिब १ किलोमिटरको दूरीमा छ। यस कारण प्रहरीले भारतमै हत्या गरी उनको शव नेपाल ल्याएर फालिएको हुनसक्ने प्रारम्भिक आशंका गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार, ‘घटना निकै रहस्यमय छ। शव नेपालमा फेला परे पनि योजनाबद्ध ढंगले हत्या भारतमा भएको हुनसक्छ भन्ने आधारहरू देखिएका छन्।’– उनले भने।

प्रहरीले सीमावर्ती क्षेत्रका आपराधिक गतिविधि गर्ने समूहमाथि शंका गर्दै भारतीय प्रहरीसँग सहकार्य सुरु गरेको छ। भारतीय अपराधीले नेपालमा प्रमाण फाल्ने प्रचलनका कारण अनुसन्धान चुनौतीपूर्ण हुने प्रहरी अधिकारीहरूको भनाइ छ।

रुबीको श्रीमान् शिवसागर साह मुजफ्फरपुरबाट आइतबारै गौर आई पुगेका छन्। उनीसँग पनि प्रहरीले सोधपुछ सुरु गरेको छ। डीएसपी कार्कीका अनुसार श्रीमानसँगको बयान र मोबाइलको लोकेसनका आधारमा अनुसन्धान अघि बढाइएको छ।

उनका अनुसार रुवीको मोबाइल फेला परेको छैन। हत्यापछि मोबाइल अपराधीले साथमै लगेको वा नष्ट गरिदिएको हुनसक्ने अनुमान गरिएको छ। मोवाईलको अन्तिम लोकेशन गौर बजार आसपास देखाएको छ। त्यसपछि मोवाईल स्विच अफ छ।

प्रहरीले अहिले आसपासका सीसी क्यामेरा फुटेज संकलन, मोबाइलको अन्तिम लोकेसन ट्रयाकिङ र मृतकको सामाजिक परिवेशका विषयमा जानकारी संकलनलाई प्राथमिकतामा राखेको छ। शवको पोस्टमार्टम प्रादेशिक अस्पताल गौरमा गर्न लगाएको छ। विस्तृत रिपोर्ट आएपछि हत्या कुन तरिकाले भएको हो भन्ने प्रष्ट हुने प्रहरीको भनाई छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट