रुबीको हत्या प्रकरणः प्रेमीमाथि परिवारको शंका, शव बोक्न प्रयोग भएको इ–रिक्सा चालक पक्राउ

जनकपुर– आईतबार विहान गौर नगरपालिका–९ स्थित मुडबलवा गेट नजिक सुटकेसमा प्याक गरिएको अवस्थामा मृत फेला परेकी २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरण विवाह अघिको प्रेम सम्बन्धसँग जोडिन थालेको छ।
रुबीका भिनाजु राजन महतोका अनुसार, विवाह पूर्वको प्रेम सम्बन्धले यो दुर्घटना निम्त्याएको हो। योजनाबद्ध रुपमा रुबीको हत्या भएको उनको दाबी छ। महतोका अनुसार, रुबीका प्रेमी केही दिनअघि मात्रै मलेसियाबाट फर्किएका थिए।
उनले विमानस्थलमा बोकेको सुटकेस र हत्या गरेर शव फालिएको सुटकेसबीच समानता देखिएको छ। रुबीका प्रेमीको टिकटक आइडी shiwark3 मा देखिएको सुटकेसलाई हत्या प्रकरणमा प्रयोग भएको सुटकेससँग मेल खाने प्रमाणका रूपमा उल्लेख गर्दै प्रेमीकै योजनामा रुबीको हत्या भएको राजनको आशंका छ।
उनका अनुसार, विवाहपछि पनि रुबी र प्रेमीबीच नियमित सम्पर्क हुने गरेको थियो। मोबाइल फोन, फेसबुक म्यासेन्जर लगायतमा कुराकानी हुने गरेका थिए। यी सबै आधारमा प्रेमीले नै हत्या गरेको हुनसक्ने ठहर परिवारजनको छ।
प्रादेशिक अस्पताल गौरमा गरिएको पोस्टमार्टमबाट पनि केही शंकास्पद पक्षहरू देखिएको चिकित्सक डा. घनश्याम ठाकुरले जनाएका छन्। प्रहरीले गौरका विभिन्न ठाउँका सीसीटीभी फुटेज सङ्कलन गरिरहेको छ भने, काजल ब्युटी पार्लर सञ्चालिका र परिवारका सदस्यहरूको बयान समेत लिइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले अनुसन्धानलाई बहुआयामिक ढङ्गले अघि बढाइएको जानकारी दिएका छन्। अनुशन्धानका क्रममा प्रहरीले गौर बजारका इ–रिक्सा चालक लक्ष्मण महरालाई सोमबार पक्राउ गरेको छ। रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजानका लागि महराको ई–रिक्सा ५ सयमा भाडामा लिएको खुलेको छ।
गगापिप्रा गाउँसम्म सुटकेस लैजान हत्याराले ई–रिक्सा भाडामा लिएको प्रहरीको भनाइ छ। मुडलवा गेटनजिक पुगेपछि ई–रिक्साको चक्कामा समस्या आएको र त्यसपछि ई–रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर ती ब्यक्ति भागेको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।
पक्राउ परेका महराले भने सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन्। शनिबार राति रुबीलाई आफ्नो डेरामा बोलाएर हत्या गरेको प्रहरीको भनाइ छ। हत्या गर्नेको लगभग पहिचान भइसकेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन्।
रौतहटको माधव नारायण नगरपालिका–६, माधोपुरकी रुबीको विवाह ५ वर्षअघि भारतको विहार स्थित मुजफ्फरपुर जिल्लाको रुक्साटोलका शिव सागर साहसँग भएको थियो। उनीहरुका ४ वर्षका छोरा छन्। श्रीमान शिवसागर भारतमै वस्दै आएका थिए भने रुबी भने केही महिनादेखि छोरा पढाउन आमा मिथिलादेवी सँगै माधवपट्टीमा डेरा गरेर वस्दै आएकी थिईन।
आईतबार चौरचन मनाउन भारतस्थित घर जाने तयारी थियो। आवश्यक सवै तयारी गरी किनमेल र ब्युटी पार्लर जाने भन्दै शनिवार साँझ गौर बजारका लागि उनी घरबाट हिँडेकी थिईन। साँझ करिव ६ बजे आमालाई ‘केही सामान ल्याउनु छ ?’ भन्दै फोन गरेकी उनी फर्किएर घर आईपुगिनन्।
राति शंकास्पद अवस्थामा गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस फेला परेको थियो। स्थानीय प्रहरीलाई खबर गरेका थिए। राति शंकास्पद लागेपछि प्रहरीले सुटकेस खोलेन। आइतबार बिहान प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव फेला परेको थियो। प्रहरीका अनुसार शवलाई खुम्च्याएर कुहिनो र घुँडा एकै ठाउँमा हुने गरी डोरी र सलले बाँधिएको थियो।
शव भेटिएको स्थान रुबीको डेराबाट करिब ५ किलोमिटर टाढा र भारतीय सीमाबाट पनि करिब ५ किलोमिटर दूरीमा पर्छ। रुबीको डेराबाट गौर बजार करिब १ किलोमिटरको दूरीमा छ।
यो पनि