झापामा विवादका कारण घर छोडेर हिडेकी महिला १ महिनापछि फर्केर घरमै गरिन आत्मदाह, उपचारका क्रममा मृत्यु

दमक– झापाको दमकमा घरायसी विवादका कारण एक महिलाले आत्मदाह गरेकी छिन्। दमक नगरपालिका–१, भानुभक्त चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाकुमारी साहले आत्मदाह गरेकी हुन।

इलाका प्रहरी कार्यालय दमकका अनुसार सोमवार दिउँसो करिब साढे ४ बजे साहले आफ्नै घरको दोस्रो तलामा कोठाको ढोका थुनेर शरीरमा पेट्रोल छर्की आगो लगाएकी थिइन्। गम्भीर घाइते बनेकी उनलाई प्रारम्भिक उपचारपछि धरान पठाइएको थियो।

तर, त्यहाँ चिकित्सक उपलब्ध नभएकाले पुनः बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा फर्काईएको थियो। अस्पतालमा उपचार भइरहेको अवस्थामा मंगलवार राति उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

शोभा मनोजकी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीको मृत्यु भएपछि मनोजले भारतको विहारस्थित मुजफ्फरपुरकी शोभालाई विवाह गरेर ल्याएका थिए। तर, उनीहरुको सम्वन्धमा सुरुवाती दिनदेखि नै खटपट सुरु भएको खुलेको छ।

लामो समयदेखि घरायसी विवाद रहेको र करिब एक महिनाअघि उनी मनोजकी जेठी श्रीमतीकी छोरी सुरभीलाई लिएर घरबाट बेपत्ता भएको खुलेको छ। त्यतिबेला सुरभी भारतको सिलिगुडीस्थित सूर्यसेन पार्कमा एक्लै फेला परेकी थिइन्। शोभाको भने कुनै पत्तो लागेको थिएन।

तर, सुरभीलाई शोभाले नै त्यहाँ छोडेर हिडेको सीसीटीभी फुटेजबाट खुलेको थिए। यसैबीच सोमबार शोभा एकाएक घर फर्किएकी थिईन। त्यही दिन उनले आत्मदाहको निर्णय लिएको प्रहरीको अनुशन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। आत्मदाहको कारण पूर्णरूपमा पुष्टि नभए पनि लामो समयदेखि चल्दै आएको घरेलु विवाद र तनाव नै मूल कारण हुनसक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट