१ महिनादेखि बेपत्ता रहेका सप्तरीका ५९ वर्षीय भगत रौतहटको लजमा मृत फेला

राजविराज– एक महिना अघिदेखि सम्पर्क विहिन भएका सप्तरीको खडक नगरपालिका–७ का ५९ वर्षीय उपेन्द्रकुमार भगत रौतहटको गौर नगरपालिका–५ स्थित नेपाल लजमा मृत फेला परेका छन्। उनको शव लजको २०२ नम्बर कोठामा सोमबार फेला परेको हो।
सप्तरीको राजविराज ८ स्थित श्यामबाबा राइस एण्ड ओइल मिल प्रालिमा म्यानेजर रहेका उनी असार २५ गते देखी बेपता थिए। कंपनीका सञ्चालक समेत रहेका उनी स६प ३६९४ नम्बरको मोटरसाइकल र मोबाइल कार्यस्थलमै छोडेर बेपता भए। त्यसपछि उनको परिवारले खोजतलाशका लागि २६ असारमा जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो।
लालु प्रसाद अग्रवाल र श्याम सुन्दर अग्रवालसँगै कारोबार गरेका भगतको अर्थिक लेनदेनको क्रममा अपहरण पश्चात हत्या भएको आरोप मृतकका छोरा विकास कुमार भगतले लगाएका छन। ‘मेरो बुवा बेपता भएकै दिन उनको फर्मको बैंक खाताबाट ४४ लाख रुपैंया झिकिएको छ। संयुक्त खातामा उनको दुई पार्टनरहरु मध्ये एक जनाले हस्ताक्षर गरेर चेकबाट रकम निकालेको भेटिएको छ।’– विकासले भने।
१ करोड ४० लाख रुपैंया ऋृण लिएका पार्टनरहरुबाटै उनको अपहरण र हत्या भएको शंका उनिहरुले गरेका छन्। सप्तरीको मान्छे गौरको लजमा आएर बस्नु, लजको संचालकले आफ्नो ग्राहक तिन दिनसम्म कोठाबाट एक पटक पनि ननिस्कदा कुनै वास्ता नगर्नुले घटनालाई झनै शंकास्पद बनाएको विकासले बताएका छन्।
दुई खाटको बिचमा तल भुईमा लडेको तथा मुखबाट रगत आएको अवश्थामा उपेन्द्रको शव २० घण्टा पछि मात्रै लजका कर्मचारीले देखेका थिए। नेपाल लजका संचालक अमित केशरीले मृतक उपेन्द्र यस अघि पनि दुई पटक लजमा आएर बसेको बताएका छन्। आफु काम विशेषले लजमा नहुदा कर्मचारीहरुलाई लजको जिम्मा छोडेको र सोमबार आफु लजमा आएको बताए।
ग्राहकहरुको रजिष्टर हेरेपछि कर्मचारीलाई कोठा चेक गर्न पठाउदा शव देखेको उनले प्रहरीलाई जानकारी गराएका छन्।
प्रहरीका अनुसार मृतकको शवमा बाहिरी चोटपटक केही देखिएको छैन। लजको सीसीटीभी फुटेजका आधारमा घट्नाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए।