प्रशासनमा उजुरी दिएको बदला लिन १२ कक्षा पढ्ने छात्राले पेट्रोल छर्किएर शिक्षिकामाथि आगो लगाइन्

राजधानी– भारतको मध्य प्रदेशस्थित नरसिंहपुरमा एक अकल्पनीय घटना घटेको छ। कक्षा १२ मा अध्ययनरत एक छात्राले आफ्नै शिक्षिकामाथि पेट्रोल खन्याएर आगो लगाइदिएकी छन्।
२५ वर्षीया ती शिक्षिकाले केही दिनअघि ‘छात्राले कक्षाभित्र आपत्तिजनक टिप्पणी गरेको’ भन्दै विद्यालय प्रशासनमा उजुरी दिएकी थिइन्। उजुरीपछि तनाव बढेको थियो। प्रहरीका अनुसार, त्यो घटनापछि रिसाएकी छात्रा बदला लिने उदेश्यले शिक्षिकाको घरसम्म पुगेकी थिइन्।
माफी माग्ने बहाना वनाएर गएकी उनले शिक्षिकालाई घर बाहिर बोलाइन्। तर, बाहिर निस्किएलगत्तै उनले अचानक पेट्रोल खन्याएर आगो लगाइदिइन्। स्थानीयवासीले तुरुन्तै शिक्षिकालाई उद्धार गरी नजिकैको अस्पताल पुर्याएका थिए।
पछि थप उपचारका लागि उनलाई जबलपुर मेडिकल कलेज रेफर गरिएको छ। उनको शरीरको करिब २५ प्रतिशत भाग जलेको भए पनि हाल अवस्था स्थिर रहेको भारतीय प्रहरीले जनाएको छ।
नरसिंहपुरका अतिरिक्त प्रहरी उपरीक्षक सन्दीप भुरियाले घटना पुष्टि गर्दै दोषी छात्रालाई पक्राउ गरिएको जानकारी दिएका छन्। उनको विरुद्धमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।