सप्तरीमा गर्भपतन मुद्दामा ४ महिना कैद तोकिएका फरार अभियुक्त पक्राउ

राजविराज — सप्तरी प्रहरीले गर्भपतन मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले सार्वजनिक गरेको विज्ञप्तिअनुसार बिष्णुपुर गाउँपालिका–१ का अरविन्द मण्डल खंगलाई पक्राउ परेका हुन।
सप्तरी जिल्ला अदालत राजविराजले गर्भपतन मुद्दामा दोषी ठहर गर्दै खंगलाई चार महिना कैद सजाय तोकेको थियो। तर फैसला भएपछि उनी फरार रहेका थिए।
प्रहरीको खोजतलासपछि भदौ ४ गते उनलाई नियन्त्रणमा लिई अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।
प्रहरीले फैसला कार्यान्वयनका लागि फरार रहेका अन्य व्यक्तिहरूमाथि समेत खोजतलास तीव्र बनाइएको जनाएको छ।
प्रतिक्रिया